पहिलो त्रैमासमै एभरेष्ट बैंकको नाफा १ अर्ब २५ करोड माथि: कर्जा र निक्षेप दुवै बढ्याे, वितरणयोग्य मुनाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्तसम्म) मा एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ।
यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ६.२३ प्रतिशतको वृद्धि हो। गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ रहेको थियो।
यस्तै साउनदेखि असोज मसान्तसम्मकाे अवधिमा बैंकको खुद ब्याज आम्दानी २.९१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४४ करोड ३८ लाख ९७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको यसै अवधिमा घटेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँमा झरेको हाे।
खुद ब्याज आम्दानीमा सामान्य संकुचन आए पनि बैंकको कुल सञ्चालन आम्दानीमा भने सुधार देखिएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ३ अर्ब २२ करोड ९५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ३ अर्ब ११ करोड ५७ लाख रुपैयाँको तुलनामा ३.६५ प्रतिशतले बढी हो।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा ६.१७ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६८ करोड ५५ लाख ५४ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यस त्रैमासमा १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफा भने घटेकाे छ। गत वर्षको सोही अवधिमा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेकाे बैंककाे वतरणयाेग्य मुनाफा अहिले ३ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ।
यस्तै बैंकको कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा वृद्धि देखिएको छ। गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको कुल निक्षेप संकलन ६.५२ प्रतिशतले बढेर असोज मसान्तसम्म ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख ५ हजार रुपैयाँ पुगेको छ।
त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कुल कर्जा तथा सापट पनि ३.८६ प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब ५१ करोड ४२ लाख ६ हजार रुपैयाँबाट २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख ८७ हजार रुपैयाँ पुगेको छ।















