नेपाल बैंकको लोभलाग्दो छलाङ: खुद नाफा ४१.४५% ले उकालो लाग्दा वितरणयोग्य मुनाफा २ अर्ब ७५ करोड पार
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असार मसान्तदेखि असोज मसान्तसम्म) मा नेपाल बैंक लिमिटेडले ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४५ प्रतिशतको आकर्षक वृद्धि हो। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकको खुद नाफा ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ रहेको थियो।
यस्तै समिक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.०७ प्रतिशतले बढेकाे छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ३ अर्ब १३ करोड ६२ लाख ५२ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ
गत वर्षको सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ९८ करोड ४९ लाख रूपैयाँ रहेकाे थियाे ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा८.५० प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा ९१ करोड ७१ लाख २० हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यस त्रैमासमा ९९ करोड ४९ लाख ५४ हजार रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आउँदै २ अर्ब ७५ करोड २८ लाख ४५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ५७ करोड १ लाख ९२ हजार रुपैयाँ ऋणात्मक (नोक्सानीमा) रहेको थियो।
यता यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५६ करोड ९५ लाख ९० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी ३.०८ प्रतिशतले घटेर चालु आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ४९ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ।
बैंकको सम्पत्तिको गुणस्तरमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.४९ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.६१ प्रतिशतमा झरेको छ।
यस्तै बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १६.०१ रुपैयाँबाट बढेर २२.६५ रुपैयाँ पुगेकाे छ भने प्रतिसेयर नेटवर्थ बढेर २९२.८९ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ। यस अवधिमा बैंककाे कुल निक्षेप ४.५६ प्रतिशतले बढेर ४ खर्ब ३४ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २.६६ प्रतिशतले बढेर २ खर्ब ५० अर्ब ७ करोड ५९ लाख रूपैयाँ पुगेकाे छ।















