१ कार्तिक २०८३, आइतबार

देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल लागेकाले दिन सकिनँः मन्त्री भट्ट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस राष्ट्रपति विद्यादेबी धण्डारीले प्रतिनिधि सभा भंग गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मन्त्री पदका लागि सिफारिस गरेका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्रलिाई साथ दिएका छन् ।

मन्त्री लेखराज भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण प्रचण्डलाई साथ दिन नसकेको बताए ।

भट्टले ओली पक्षले सोमबार बोलाएको आफ्नो गुटका सांसदहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सोमबार बिहान बसेको बैठकमा भट्टले ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको बताएका हुन् ।

भेलालाई सम्बोधन गर्दै भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबीसमेत गरेका छन् । तर सरकारलाई कामै गर्न नदिने र सधैं अनिर्णयको बन्दी गराउने षडयन्त्र भएको उनको भनाइ छ ।