१ कार्तिक २०८३, आइतबार

हाइवेमा पाटेबाघ मार्ने युनाइटेड फाइनान्सका सीइओ प्रहरी हिरासतमा



काठमाडौं । पूर्व–पश्चिम राजमार्गस्थित बाराको पथलैया क्षेत्रमा पाटेबाघ मार्ने सीइओलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित बाराको पथलैया क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्र सडकमा जथाभावी सवारी चलाउँदा शुक्रबार एउटा पाटे बाघको निधन भएको थियो ।
पाटे बाघलाई गाडीको ठक्कर दिएर मार्ने व्यक्ति बैंकको सिइओ रहेको खुलासा भएको छ ।

तर, घटनामा सम्लग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेपनि को हुन् भन्नेबारे गोप्य राखेको थियो । तर, सडकमै बाघको मृत्यु हुने गरी सवारी चलाउने बसन्त चौधरी मालिक अध्यक्ष रहेको युनाइटेड फाइनान्स लिमिटेडका सिइओ अजय मिश्र रहेको तथ्य फेला परेको हो ।

गत शुक्रबार दिउँसो बाराको पथलैयास्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी सडकमै बाघ मरेपछि युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सीइओ अजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा गुडिरहेको मिश्रको सवारी साधनसँग ठोक्किएपछि अकस्मात जम्काभेट भएको बाघ सडकमै ढलेको जनाइएको छ ।