सनराइज बैंकको ५८ औं शाखारहित बैंकिङ्ग सेवा बेलकोटगढी ५ माझगाउँमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका ५, माझगाउँ, नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ ।
बैंकले बेलकोटगढी नगरपालिका–५,माझगाउँ, नुवाकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ ।
आज आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलकोटगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार शाखाका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठ र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपालले गर्नु भएको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन,रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,५८ वटा शाखारहित बैंकिङ्ग सेवा,११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।












