२९ श्रावण २०८३, शुक्रबार

लघुवित्तको लाभांसमा किन भयो ढिलाई, सेयरधनी मर्कामा



काठमाडौं । लघुिवत्त वित्तीय सस्ंथाहरूले यस वर्ष साधारणसभा गर्न ढिलाइ गरेका छन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र सभा सक्नुपर्नेमा हालसम्म २५ प्रतिशत लघुवित्तले मात्रै सभा आह्वान गरेका छन् ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार हाल ७८ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । तीमध्ये हालसम्म २० वटा लघुवित्तले मात्रै साधारणसभा बोलाएका छन् । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरूले सर्वसाधारणमा सेयर जारी गरी नेपाल स्टक एक्सचेञ्जमा समेत सूचीकृत भइसकेका छन् । सूचीकृत लघुवित्तमा पनि हालसम्म १८ वटाले मात्रै सभा बोलाएका छन् भने ३९ कम्पनीले सभा बोलाउन बाँकी नै छ । सूचीकृत नभएका मध्ये अभियान र घरेलु लघुवित्तले सभा बोलाएका हुन् ।

लघुवित्त कम्पनीहरूको साधारणसभामा ढिलाई हुनुमा कोरोना र केन्द्रिय बैंकको नयाँ नीति रहेको लघुवित्तकर्मीहरू बताउँछन् । अहिले कारोनाको कारण अधिकांश कम्पनीको साधारणसभामा ढिलाइ भएको छ । यसको असर लघुवित्तहरूमा अझै बढी देखिन्छ ।

कोरोनाको कारण अडिटदेखि अन्य कामहरूमा समेत ढिलाई भएको कारण लघुवित्त कम्पनीहरूको सभामा केही ढिलाइ भइरहेको लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल बताउँछन् । केन्द्रीय बैंकको नयाँ नीतिअनुसार कर्जा सूचना केन्द्रमा कर्जाको अपडेट गर्न‘पर्ने भएर पनि अहिले केही ढिलाइ भइरहेको उनको भनाइ छ ।

“राष्ट्र बैंकको नीतिअनुसार कर्जा सूचना केन्द्रमा कर्जाको तथ्याङ्क अपलोड गर्नुपर्ने र त्यो अपलोड गरेर नयाँ रिपोर्ट नदिँदासम्म सभा गर्न नपाउने भनेर केन्द्रीय बैंकले भनेको छ । यसले गर्दा केही ढिलाइ भएको हो,” उनले भने ।

लघुवित्त वित्तीय संस्थाले कर्जा सूचना केन्द्रको अनलाइन प्रणालीमा तोकिएको ढाँचामा कर्जासम्बन्धी विवरण महिना भुक्तान भएको १५ दिनभित्र अद्यावधिक गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी कर्जा सूचना केन्द्रमा सूचना नपठाइएको वा कर्जा सूचना नलिई प्रवाह भएको कर्जामा २ प्रतिशत विन्दुले थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ ।

कोरोनाकै कारण समयमा नै अडिट गर्न नपाइएकोले गर्दा लाभांश घोषणा र साधारणसभामा ढिलाई भएको उनको भनाइ छ । यद्यपि, उनी प्रमुख कार्यकारी अधिकृत रहेको विजय लघुवित्तले भने सभा बोलाइसकेको छ ।

१९ वटाको मात्र लाभांश सूचीकृत लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म १९ वटाले मात्रै गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गर्ने १९ लघुवित्तमध्ये वोमी लघुवित्तले सबैभन्दा धेरै ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै, छिमेक लघुवित्तले पनि २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त कम्पनीमध्ये आरएसडीसी र मिर्मिरे लघुवित्तले सबैभन्दा कम अर्थात् १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।सेयर बजार