सनराइज बैंकको थप नयाँ ५ शाखारहित बैंकिङ्ग सेवा र कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात
काठमाडौं । सनराइज बैंकले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।
आज बैंकले व्यास नगरपालिका –१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा खोलेको छ । त्यस्तै शनिबार धुर्कोट गाउँपालिका –३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन ।
साथै बैंकले आज काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।












