२४ भदौ २०८३, बुधबार

माघे संक्रान्ति देशभर भव्य रुपमा मनाइँदै, नुवाकोटमा बुल फाइट हुने



माधव खनाल

आज माघे संक्रान्ति देशभर भव्यताका साथ मनाइँदैछ । विभिन्न ठाउँमा विविध कार्यक्रम सहित माघेसंक्रान्ति मनाउने गरिन्छ । विशेषतः काठमाडौंका आदिवासी नेवार समुदाय र तराईका आदिवासी थारुहरुले यो पर्वलाई भव्यताका साथ मनाउँदै आएका छन् । आज संक्रान्तिको दिन काभ्रेको पनौतीमा मकर मेला लाग्ने गर्दछ । यो मेला लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै लाग्ने गरेको बताइन्छ । आज नेपाल सरकारले देशव्यापी रुपमा सार्वजनिक बिदा समेत घोषण गरेको छ । त्यसतो त देशका विभिन्न भागमा उत्साहका साथे माघे मेला मनाइने गरिन्छ । नजिकको नदी, खोलामा स्नान गरी, भगवानको प्रार्थना गरेर अघिल्लो दिन नै पोलेर राखेको तरुल, चाक्कु, घिउ खाने चलन रहेको छ ।

यस दिन नुवाकोटको देवीघाट, काठमाडौंमा बागमती, मनमती, शंखमूल, नारायणी, कालीगण्डकी र राप्ती नदीको देवघाटमा मेला लाग्ने गर्दछ । त्यसैगरी गुल्मीको धार्मिक तथा ऐतिहासिक महत्व भएको रुरु क्षेत्रमा पनि माघेसंक्रान्ति भव्य रुपमा मनाउने गरिन्छ । सो क्षेत्रमा नेपाल, भारत लगायतका भक्तजनहरुको घुइँचो हुने गरेको छ । माघको पहिलो दिन घिउ, चाकु खाएर मनाइने यो पर्व १२ महिनामा हुने १२ राशी अनुसार माघ महिनामा मकर राशी पर्ने भएकाले यसलाई मकर संक्रान्ति समेत भनिन्छ । माघ १ देखि दिन लामो हुँदै जाने र रात छोटो हुँदै जाने गर्दछ । आजको दिनदेखि सूर्य उत्तरायण हुँदै जानेछ । नेवारी संस्कार अनुसार माघे संक्रान्तिका दिन चाकुमा तिल राखेर खाने गरिन्छ । घिउ, चाकु, तरुल, पालुंगोको साग, माछा सहितको सम्ये बजी बनाएर देवी देवतालाई चढाउने प्रचलन समेत रहेको छ । यसैगरी तराईका आदिवासी थारुहरुले माघी संक्रान्ति र तिला संक्रान्ति भन्दै यो पर्वलाई धुमधामसहित मनाउने गर्दछन् । यसैदिन थारुहरुको नयाँ वर्ष सुरु हुने दिन पनि हो । यस दिनदेखि उनीहरुले पाँच दिनसम्म रमाइलो गर्दै चाड मनाउने गर्दछन् ।

थारु समुदायले सुंगुरको मासु खाई धमार गाउँदै माघी मनाउने प्रचलन छ । आजको दिन काठमाडौंको टुडिखेलमा थारु समुदायले माघी–नयाँ वर्ष विशेष समारोह गरी नाचगानका साथ भव्य रुपमा मनाउँदै छन् । तराई–मधेसमा यस दिनलाई तिला संक्रान्ति, पूर्वी नेपालका किरात र हिमाली समुदायका शेर्पा, थकाली, तामाङ, गुरुङ लगायत समुदायमा पनि नयाँ वर्ष येलेदोङ, ल्होछार प्रारम्भको दिनका रूपमा लिइन्छ । त्यसो त मगर समुदायले टराभरा उभौली जीवजनमा प्रवेश गरेको खुसीयालीमा माघे संक्रान्ति चाड मनाउने गर्दछन् । यस चाडमा उनीहरुले धनुषबाण खेल्ने, छेलो हान्ने, वन तरुल, भ्याकुर, माछामासु र खिचडी खाने गर्दछन् । त्यसैगरी आजकै दिन नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकामा गोरु जुधाई मेला हुँदैछ ।

करिब १ सय वर्ष अघिदेखि सो गाउँमा गोरु जुधाई मेला हुँदै आएको स्थानीय बताउँछन् । राजा जयपृथ्वीबहादुर सिंहका छोरा आफ्नो मामा घर तारुका गएका बेला भान्जालाई गोरु जुधाएर मनोरन्जन दिएका थिए । त्यसै वर्षदेखि गोरु जुधाएर स्थानीयहरुले मनोरन्जन लिँदै आएका थिए । तर विगत केही वर्षदेखि नुवाकोट, धादिङ, रसुवा, मकवानपुर लगायत राजधानीका दर्शकहरु समेत मेलामा जान थालेपछि मेलाको रौनक अझ बढ्दै गएको छ । तारुकामा गोरुजुधाई कार्यक्रमले व्यापकता पाएपछि नुवाकोटकै, तुप्चे, शिवपुरी लगायत छिमेकी जिल्ला रसुवा र धादिङमा समेत गोरु जुधाउन थालिएको छ ।