एक महिनामै १ लाख डिम्याट खाता, दुर्गमका जिल्लाबाट नयाँ लगानीकर्ता भित्रिए
काठमाडौं । पछिल्लो समय सेयर बजारमा दैनिक कारोवार रकम र सूचकहरूको बृद्धी भएसँगै नयाँ लगानीकर्ताहरू पनि बढ्न थालेका छन् । दोस्रो बजार दैनिक बढ्न थालेपछि ७७ जिल्लाबाटै नयाँ लगानीकर्ता सेयर बजार प्रवेश गर्न थालेका हुन् । गत एक महिनामै प्राथमिक बजारमा १ लाखभन्दा बढी लगानीकर्ता भित्रिएका छन् ।
केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) का अनुसार गएको एक महिनाको बिहीबारसम्म १ लाख १३ हजार आठ सय ७८ लगानीकर्ता प्राथमिक बजारमा प्रवेश गरेका छन् । उक्त संख्याका लगानीकर्ता ७७ जिल्लाबाटै प्रवेश गरेका हुन् । एक महिनाअघिसम्म प्राथमिक बजारमा हितग्राही (डिम्याट खाता) खोल्ने लगानीकर्ताको कुल संख्या २१ लाख ९७ हजार ६ सय दुई रहेको थियो । एक महिनामै लाखौँको संख्यामा नयाँ लगानीकर्ता थपिएपछि बिहीबारसम्म डिम्याट खाता खोल्नेको कुल संख्या २३ लाख ११ हजार चार सय ८० पुगेको छ ।
उक्त तथ्याङ्कअनुसार, सेयर बजारमा दैनिक तीन हजार ७९५ लगानीकर्ता प्रवेश गरिरहेका छन् । यसरी हेर्दा एक जिल्लाबाट औसतमा १५ सय १८ नयाँ लगानीकर्ता बजार प्रवेश गरेका हुन् । काठामाडौंदेखि हिमाली जिल्ला मनाङसम्मका लगानीकर्ता एक महिनाभित्र बजारमा प्रवेश गरेका छन् ।
बजार प्रवेश गर्ने नयाँ लगानीकर्तामा सबैभन्दा बढी काठमाडौंका छन् । गएको एक महिनामा काठमाडौंबाट मात्रै १४ हजार तीन सय ५९ लगानीकर्ता प्राथमिक बजार प्रवेश गरेका छन् । बजार प्रवेशको दोस्रो स्थानमा झापा परेको छ । पाँच हजार एक सय १२ झापाली प्राथमिक बजार छिरेका छन् । तेस्रोमा मोरङ जिल्ला परेको छ । मोरङबाट चार हजार सात सय ७३ लगानीकर्ता बजार प्रवेश गरे । यसैगरी, क्रमशः चौथोमा ललितपुर, चितवन, सुनसरी, काभ्रेपलान्चोक, भक्तपुर, रुपन्देही, कास्की लगायत छन् ।
७५ जिल्लाबाट बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताको हुलमा सबैभन्दा पुछारमा मनाङ परेको छ । मनाङबाट ३८ नयाँ लगानीकर्ता बजार प्रवेश गरेका छन् । डोल्पाजस्तो विकट हिमाली जिल्लाबाट समेत ४८ नयाँ लगानीकर्ता बजार प्रवेश गरेका छन् । मुस्ताङ, मुगु हुम्ला, बजारु र जाजरकोटको पनि बजार प्रवेशमा राम्रै उपस्थिति देखिएको छ । बजार प्रवेश गर्ने लगानीकर्ता सबैभन्दा बढी ब्रोकर कार्यालय भएको ठाउँबाट देखिएको छ । जुन ठाउँमा ब्रोकर कार्यालय छैनन्, ती ठाउँबाट लगानीकर्ताको प्रवेश अरू जिल्लाको तुलनामा न्यून देखिएको छ । काठमाडौंमा सबैभन्दा बढी ब्रोकर र राजधानीसमेत भएको कारण उनीहरूको प्रवेश बढी देखिएको हो । सबैभन्दा बढी नयाँ लगानीकर्ता प्रवेश गरेका १० जिल्ला सबैमा ब्रोकर कार्यालय छन् । ब्रोकर कार्यालय नभएका जिल्लामा भने नयाँ लगानीकर्ताको प्रवेश न्यून हुँदै गएको तथ्यांकमा देखिन्छ ।
सबै जिल्लाबाट प्रतिनिधित्व गर्न भने निक्षेप सदस्यहरूले सघाएका छन् । स्थानीय तहमा पुगेका बैक वित्तीय संस्थाले सबै जिल्लामा नयाँ लगानीकर्ता प्रवेशको बाटो खोलेको सीडीएससीले जनाएको छ । “हामीले सबै जिल्लामा निक्षेप सदस्य पु¥याएका छौँ । तीनै सदस्यको मद्दतले सबै जिल्लाबाट प्राथमिक बजारमा नयाँ लगानीकर्ताको उल्लेख्य उपस्थिति हुन सम्भव भएको हो”, सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने । बजार दैनिक बढ्दै गएको र सेयर बजारमा लगानी गर्दा फाइदा हुने सन्देश गाउँ–गाउँसम्म प्रभावित भएका कारण हुलका हुल लगानीकर्ताले बजार प्रवेश गरिरहेको लगानीकर्ताहरू बताउँछन् । “दोस्रो बजार दैनिक बढिरहेको छ । फेरि प्राथमिक बजारमा किनेकाले दोस्रो बजारमा सेयर बिक्री गर्दा लगानी गर्नेले हत्तपत्त घाटा खानु परेको छैन ।
त्यसले गर्दा पनि एकले अर्कालाई यो बजार प्रति आकर्षित गर्दै लगेका छन् । जसले गर्दा पनि नयाँ लगानीकर्ता भित्रिने क्रम दैनिक बढ्दै गएको हो”, लगानीकर्ता तुलसीराम ढकाल बताउँछन् । सेयर बजारमा दैनिक हजारौँ लगानीकर्ता प्रवेश गरेपनि प्राथमिक सेयर निष्काशनको बेलामा सबैभन्दा बढी नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने गरेका छन् । पछिल्लो समय प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर निष्काशन भएको कारण धेरै नयाँ लगानीकर्ताले बजार प्रवेश गरेको न्यौपानेले बताए ।













