नेप्सेमा नयाँ उचाइ कायमै, ६ अर्ब बढिको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १७.३१ अंकले बढेर २३३२.३२ अंकमा बन्द भएको छ । सोमबार अधिकांश लगानीकर्ताहरु माइक्रो फाइनान्समा आकर्षित भएको देखिन्छ । सोमबार लगभग दर्जन माइक्रो फाइनान्सको सर्किट लेभलमा कारोबार भएको छ । सोमबार नेप्से परिसूचक १७.३१ अंकले बढेर २३३२ बिन्दुमा पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
सोमबार दिनभरि २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर किनबेच भएर कूल ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकै दिन ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँ रहेको छ ।
बजारमा १८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये १६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी सिभिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । संस्थाको सेयर ८८ रुपैयाँले बढेर प्रतिकित्ता ९६८ रुपैयाँ पुगेको छ ।













