सेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंकले ल्यायो उल्लासमय वातावरण, डिम्याट एकाउण्ट खोल्ने २६ लाख पुगे
काठमाडौं । पछिल्लो समय डिम्याट एकाउण्ट खोल्ने लगानीकर्ताको संख्यामा बृद्धि आएको छ । हाल नेपालका कुनकुनाबाट लगानीकर्ता नेप्सेमा ओइरन लागेका छन् । थोरै लगानीमा आम्दानी धेरै हुने भएपछि लगानीकर्ता स्टक मार्केटमा प्रवेश गर्न लागेका हुन् । अझ नेपाल इन्फास्ट्रक्चरले जारी गरेको हालसम्मकै ठूलो आइपीओले पनि ठूलो राहत मिल्यो । नेप्सेमा हालसम्म करिव २६ लाख लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । सिडिइस एण्ड क्लियरिङ हाउसका अनुसार हालसम्म देशका ७७ जिल्लाबाट गरि २५ लाख ८२ हजार १०४ जना लगानीकर्ताले डिम्याट एकाउण्ट खोलेका छन् ।

माघ २ गतेदेखि विक्री खुला गरेको निफ्रा बैंकको आइपीओले लगानीकर्तालाई सेयर मार्केटमा आकर्षण गरेको हो । सामान्य चहलपहल हुने बैंक तथा क्यापिटलमा केहि महिनादेखि घण्टौ लाइन लाग्नुपर्ने अवस्था छ । डिम्याट एकाउण्ट खोल्न र लगानी गर्नेको संख्यामा बृद्धि भएपछि बैंक र क्यापिटलमा लाइन लाग्नु परेको बजारमा प्रवेश गर्न आएका एकजना नयाँ लगानीकर्ता प्रदिप खड्का बताउँछन् । उनले, भने, “नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सबैभन्दा ठूलो आइपीओ आयो, यसले पनि आकर्षित गर्यो, अर्काे लगानीकर्ताहरुमा चेतनाको वृद्धि भयो ।” निफ्रा बैंकको आइपीओमा ५० कित्ताको लागि आवेदन दिएको उनले बताए ।

आम नेपालीलाई सेयरप्रतिको चासो बढ्दा सेयरमा लगानीकर्ता बढेको सेयर विज्ञहरु बताउँछन् । नेपालमा हालसम्मकै ठूलो आइपीओ निष्काशन गरिएको र आवेदन दिने सबैलाई सेयर पर्ने भएकाले डिम्याट एकाउण्ट खोल्नेको संख्यामा बृद्धि भएको प्रभु क्यापिटलले जनाएको छ । अर्काेतिर सेयर बजारमा भएको बृद्धिले नै लगानीकर्तालाई चासो बढेको पनि अनुमान सेयर विज्ञले गरेका छन् । दैनिक २ हजारभन्दा बढिले डिम्याट एकाउण्ट खोलिरहेको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलका अनुसार प्रभु बैंकको सहायक कम्पनीका रुपमा रहेकाले प्रभु क्यापिटल र बैंकको तथ्याङ्क हेर्दा डेढ लाख जतिले डिम्याट खाता खोलेको छन् ।

तर, डिम्याट खाता खोल्नका लागि गाह्रो हुने गरेको लगानीकर्ता शुवास रेग्मी बताउँछन् । उनी भन्छन्, “डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या बढेको छ, घण्टौ समय लाइन लाग्नु पर्छ त्यसमा आज यो डकुमेण्ट पुगेन, भोली त्यो पुगेन भन्छ, त्यसैले यो समस्यालाई भने सहज बनाउनुपर्छ ।” तर, डिम्याट खाता खोल्न सिस्टम अनुसार नै जानुपर्ने क्यापिटल संस्थाहरु बताँउछन् ।

बैंकको कामले आएका ग्राहकहरु पनि लाइनमा बस्न बाध्य छन् । लगानीकर्ताले बैंकबाट नै नेफ्राको आइपीओ भर्न थालेपछि बैंकमा पनि भिड बढेको प्राइम कमर्सियल बैंकमा चेक जम्मा गर्न आएका ग्राहक बताउँछन् । पछिल्लो २ महिनामा मात्रै ४ लाखले नयाँ डिम्याट खाता खोलेका छन् । तर, डिम्याट खाता भएका सबैले भने आईपीओका लागि आवेदन नदिने गरेको क्यापिटलले बताउछन् ।

शुक्रबारदेखि खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) ले आवेदनमा नयाँ रेकर्ड कायम हुने अनुमान गरिएको छ । आईपिओ खुलेको चौथो दिनमा ११ लाख ७७ हजार ९२० जनाले आवेदन दिएका छन् । पछिल्लो समय बैंक तथा क्यापिटलमा आइपीओ भर्नका लागि भिड लाग्ने गरेको छ । सोमबारसम्म १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता सेयरका लागि १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँ संकलन भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

निफ्रा बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जाने छ ।
बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ । सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । ठूलो परिमाणमा भएका कारण यो बैंकको साधारण सेयर आईपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।













