३० श्रावण २०८३, शनिबार

५ महिनामै साढे १७ अर्ब सेयरमा लगानी



काठमाडौं । सेयर धितो कर्जामा आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै करिब साढे १७ अर्ब रुपैयाँ सेयर धितोमा लगानीमा गरेका छन् ।

राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म पनि ५० अर्ब ४१ करोड रुपैयाँमात्रै सेयर धितो कर्जा लगानीमा रहेको थियो । पछिल्लो पाँच महिनामै यस्तो कर्जा १७ अर्ब ४४ करोड रुपैयाँले वृद्धि भएको छ । पछिल्लो एक महिनाकै तथ्यांक हेर्ने हो भने पनि साढे ६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी भएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंककाअनुसार सेयर धितोमा लगानी हुने कर्जा चालु आर्थिक वर्षको पाँच महिनामा ६७ अर्ब ८५ करोड रुपैयाँभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्म ६१ अर्ब ३१ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा एक महिनामा नै बढेर ६७ अर्ब ८५ करोड रुपैयाँभन्दा धेरै भएको हो । पछिल्लो समय सेयर बजारतर्फ लगानीकर्ता आकर्षित हुँदा यो क्षेत्रमा जाने कर्जाको मात्रा पनि बढेको हो ।

मंसिर महिनामा सेयर बजार निकै माथि पुगेको छ । यो महिनामा सेयर बजारमा एकैदिन ९ अर्ब रुपैयाँभन्दा धेरैकोसम्म कारोबार भएर नयाँ रेकर्डसमेत कायम भएको थियो । पछिल्लो केही वर्षको तथ्यांक हेर्ने हो भने पनि सेयर धितोमा जाने मार्जिन नेचरको कर्जामा निजरन्तर उकालो लागेको छ । आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्म यस्तो प्रकृतिको कर्जा ४१ अर्ब १३ करोड रुपैयाँमात्रै लगानीमा रहेको थियो । आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्म आइपुग्दा भने ४५ अर्ब ४२ करोड रुपैयाँ सेयर धितोमा कर्जा लगानी भएको राष्ट्र बैंक बताउँछ ।

दैनिक २० करोड बजारमा पछिल्लो समय लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट दैनिक २० करोड रूपैयाँभन्दा धेरै कर्जा लिएर सेयर बजारमा लगानी गर्ने गरेको देखिएको छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार एक महिनामा नै लगानीकर्ताले ६ अर्ब ५४ करोड रुपैयाँ मार्जिन कर्जा लिएका छन् । गत मंसिर महिनामा मात्रै बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मार्जिन कर्जा १०.६७ प्रतिशतले बढेको छ । कार्तिक अन्तिमसम्ममा ६१ अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी भएकोमा मंसिर अन्तिमसम्ममा ६७ अर्ब मार्जिन कर्जा लगानी भएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाउँछ ।

अहिले बैंकबाट कर्जा लिएर लगानी गर्दा बैंकमा तिर्नुपर्ने ब्याज भन्दा सेयर बजारबाट बढी आम्दानी हुने भएकोले लगानीकर्ताहरू कर्जा लिएर लगानी गर्न थालेको एक लगानीकर्ताले बताए । ‘अहिले बैंकबाट ८ प्रतिशत ब्याजकै हाराहारीमा सेयर धितो कर्जा पाइन्छ,’ ती लगानीकर्ताले भने, ‘सो ब्याजदरमा कर्जा लिएर सेयर बजारमा लगानी गर्दा बैंकलाई ब्याज तिरेर पनि केही प्रतिशत नाफा सुरक्षित गर्न सकिन्छ ।’ अहिले लगानीकर्ताले लाभांशमा आधारीत भएर लगानी गर्दा पनि राम्रा कम्पनीहरूबाट १० प्रतिशतभन्दा बढी प्रतिफल पाइरहेको अवस्था छ । यसले गर्दा लगानीकर्ताहरूले बैंकबाट कर्जा लिएर लगानी बढाएका हुन् ।

मार्जिन कर्जाको लागि लगानीकर्ताहरूको पहिलो रोजाइमा बाणिज्य बैंक नै रहेको देखिएको छ । पछिल्लो समय बाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाएको र विकास बैंक र फाइनान्स कम्पनीको भन्दा तुलनात्मकरुपमा सस्तो ब्याजदरमा बाणिज्य बैंकबाट कर्जा पाइने भएकोले पहिलो रोजाइमा बाणिज्य बैंक परेका हुन् । वाणिज्य बैंकहरूले गत मंसिरको एक महिनामा नै मार्जिन कर्जा झन्डै साढे १२ प्रतिशतले बढाएका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत मंसिर महिनामा बैंकहरूको मार्जिन कर्जा १२.३५ प्रतिशतले बढेको छ ।

गत कात्तिक अन्तिम सम्ममा ५० अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गरेका बैंकहरूले मंसिर महिनामा ६ अर्बभन्दा धेरै मार्जिन कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्तिमसम्ममा ४१ अर्ब रुपैयाँमात्रै लगानी गरेका बैंकहरूले चालु आर्थिक वर्षमा मात्रै १५ अर्ब रुपैयाँभन्दा धेरैले मार्जिन कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षमा सेयर बजार लगातार बढ्दो क्रममा छ । नेप्सेले दैनिक नयाँ रेकर्ड बनाउदै २२०० को विन्दुमा पुगिसकेको छ । सेयर बजार बढ्दै जाँदा बैंकबाट कर्जा लिएर लगानी गर्नेहरू पनि बढेका छन् । गतवर्षहरूमा मार्जिन कर्जा बढाउन अनेकौ उपाए अपनाउँदा पनि सोचे जति मार्जिन कर्जा बढाउन नसकेका बैंकहरूले यस वर्ष भने मार्जिन कर्जामा ह्वातै लगानी बढाएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले मार्जिन कर्जाको सिमा बढाएर ७० प्रतिशत पु¥याएको थियो भने १२० दिनको औसत मूल्यको आधारमा कर्जा दिन सक्ने व्यवस्था गरेको थियो । यसै व्यवस्थाका कारण पनि बढेको बजारमा कर्जा लिने बढेका हुन् । यसअनुसार लगानीकर्ताले औसतमा दैनिक २१ करोड ८१ लाख रुपैयाँ कर्जा लिने गरेका छन् । अर्कोतर्फ, केन्द्रीय बैंकले सीसीडी र सीआरआरमा केही सहुलियत दिएको कारण बैंकिङ्ग प्रणालीमा तरलता अधिक छ । केन्द्रीय बैंकले करिब ८० अर्बको तरलता खिच्दा पनि १ खर्ब ३४ अर्ब बढीको तरलता बैंकिङ्ग प्रणालीमा अझै छ । अधिक तरलता रहेका कारण बैंकहरूले मार्जिन कर्जामा लगानी बढाएका हुन् । बाणिज्य बैंकमात्रै होइन विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि यस्तो कर्जामा लगानी बढाउँदैआएका छन् । मंसिर महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरूले क्रमशः ३.५० प्रतिशत र १.०६ प्रतिशतले मार्जिन कर्जा बढाएका छन् ।

गत कात्तिक अन्तिमसम्ममा ८ अर्ब ४५ करोड रुपैयाँ मार्जिन कर्जा दिएका विकास बैंकहरूले मंसिर अन्तिमसम्ममा ८ अर्ब ७५ करोड मार्जिन कर्जा लगानी गरेका छन् भने २ अर्ब ४६ करोड मार्जिन कर्जा लगानी गरेका फाइनान्स कम्पनीहरूले २ अर्ब ४८ करोड लगानी गरेका छन् । अहिले मुद्दती निक्षेपमा राखेर ब्याज खानेहरूको संख्या भने थोरैमात्र बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेप १.८९ प्रतिशतले मात्रै बढेको छ । यता, साधारण बचत पनि १ प्रतिशतभन्दा कमले मात्रै बढेको छ भने चालु खाता निक्षेप २ प्रतिशतले बढेको छ । त्यस्तै, कल निक्षेप भने ४ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ ।