एक पटक चार्ज गरेपछि ७ दिनसम्म चल्ने स्मार्टफोन: १५ हजार एमएएच क्षमताको ब्याट्री परीक्षण गर्दै अनर
काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताको सबैभन्दा ठूलो समस्यामध्ये एक हो– ब्याट्री छिटो सकिनु। दिनभरि फोन चलाउनेहरूलाई त झन् पटक-पटक चार्ज गर्नुपर्ने झन्झट सामान्यजस्तै बनेको छ।
तर, अब यही समस्याको समाधान गर्ने लक्ष्यसहित स्मार्टफोन निर्माता कम्पनी अनरले अहिलेसम्मकै ठूलो ब्याट्री क्षमतामध्ये एक भएको स्मार्टफोन विकास गरिरहेको छ।
चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले एकपटक पूरा चार्ज गरेपछि सात दिनसम्म चलाउन सकिने दाबी गरिएको १४ हजारदेखि १५ हजार एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन परीक्षण गरिरहेको छ। यो स्मार्टफोन बजारमा आएमा सामान्य स्मार्टफोनमा प्रयोग भइरहेका ब्याट्रीको तुलनामा निकै ठूलो क्षमताको हुनेछ।
चिनियाँ सामाजिक सञ्जाल वेइबोका चर्चित प्रविधि टिपस्टर डिजिटल च्याट स्टेसनले अनरको नयाँ स्मार्टफोनबारे यस्तो खुलासा गरेका हुन्। उनका अनुसार कम्पनीले विकास गरिरहेको विशाल क्षमताको ब्याट्री परीक्षण उत्पादनको चरणमा प्रवेश गरिसकेको छ।
टिपस्टरका अनुसार कम्पनीले यो ब्याट्री प्रयोग हुने स्मार्टफोनलाई एकपटक चार्ज गर्दा सात दिनसम्म प्रयोग गर्न सकिने बनाउने लक्ष्य राखेको छ। यद्यपि, कम्पनीले आधिकारिक रूपमा स्मार्टफोनको नाम, विशेषता र सार्वजनिक हुने मिति भने घोषणा गरिसकेको छैन।
सामान्यभन्दा तीन गुणा ठूलो ब्याट्री र सिलिकन–कार्बन प्रविधि
अहिले बजारमा उपलब्ध अधिकांश मुख्यधारका स्मार्टफोनमा ६ हजार एमएएचभन्दा कम क्षमताका ब्याट्री प्रयोग भइरहेका छन्। १० हजार एमएएचभन्दा बढी क्षमता भएका स्मार्टफोन पनि निकै कम छन्।
सामसङको ग्यालेक्सी एस२६ अल्ट्राको तुलनामा अनरले परीक्षण गरिरहेको ब्याट्रीको क्षमता करिब तीन गुणा ठूलो हुनेछ।
अनरले यसअघि नै ठूलो ब्याट्री क्षमताका स्मार्टफोन सार्वजनिक गरिसकेको छ। कम्पनीको विन आरटी २ गेमिङ स्मार्टफोनमा १२ हजार ७० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। उक्त फोनमा सिलिकन–कार्बन प्रविधिमा आधारित ब्याट्री प्रयोग गरिएको छ। ९० वाटको द्रुत चार्जिङ सुविधा भएको यो फोनको मोटाइ पनि ८.५ मिलिमिटर मात्रै रहेको बताइएको छ।
यसले ठूलो क्षमताको ब्याट्री राख्दैमा स्मार्टफोन अनिवार्य रूपमा निकै मोटो र भारी हुनुपर्छ भन्ने मान्यतालाई चुनौती दिएको छ।
अनरले आफ्नो ठूलो क्षमताको ब्याट्री विकासमा प्रयोग गरिरहेको सिलिकन–कार्बन प्रविधि पछिल्लो समय स्मार्टफोन उद्योगमा निकै चर्चामा छ। परम्परागत लिथियम–आयन ब्याट्रीको तुलनामा यस प्रविधिमा आधारित ब्याट्रीले कम ठाउँमा बढी ऊर्जा सञ्चित गर्न सक्छन्। यही कारण स्मार्टफोनको मोटाइ र तौल अत्यधिक नबढाई ब्याट्रीको क्षमता बढाउन सम्भव हुन्छ।
सामान्य लिथियम–आयन ब्याट्रीको ऋणात्मक इलेक्ट्रोडमा ग्रेफाइट प्रयोग गरिन्छ। तर, सिलिकन–कार्बन प्रविधिमा यही भागमा सिलिकन मिसाइन्छ। सिलिकनले ग्रेफाइटको तुलनामा बढी ऊर्जा सञ्चित गर्न सक्ने भएकाले ब्याट्रीको ऊर्जा घनत्व बढाउन मद्दत गर्छ।
सामसङले पनि सन् २०२६ मा सार्वजनिक गरेका आफ्ना फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ मा सिलिकन–कार्बन प्रविधिमा आधारित ब्याट्री प्रयोग गरेको छ। यसले स्मार्टफोनलाई पातलो र हलुका राख्दै ब्याट्री क्षमता बढाउने सम्भावनालाई थप बल दिएको छ।
यद्यपि, ठूलो क्षमताको ब्याट्री विकास गर्नु मात्रै पर्याप्त हुँदैन। त्यसलाई स्मार्टफोनको आकार, तौल, तापक्रम नियन्त्रण र समग्र कार्यक्षमतासँग सन्तुलन मिलाउनु पनि चुनौतीपूर्ण हुन्छ। विशेषगरी लामो समयसम्म प्रयोग गर्दा ब्याट्री तात्ने समस्या नियन्त्रण गर्नु र फोनको अन्य सुविधामा सम्झौता नगर्नु कम्पनीका लागि महत्त्वपूर्ण हुनेछ।
अरू स्मार्टफोन कम्पनीलाई दबाब
ठूलो क्षमताका ब्याट्री विकास गर्ने दौडमा चिनियाँ स्मार्टफोन कम्पनीहरू पछिल्लो समय अगाडि देखिएका छन्। सुरुमा तीव्र गतिमा चार्ज हुने प्रविधिमा प्रतिस्पर्धा गरेका कम्पनीहरू अहिले ब्याट्रीको क्षमता बढाउनेतर्फ केन्द्रित हुन थालेका छन्।
चीनबाहिरका प्रमुख स्मार्टफोन निर्माता कम्पनीहरू भने अझै सीमित क्षमताका ब्याट्रीमा केन्द्रित छन्। एप्पल र गुगलजस्ता कम्पनीका स्मार्टफोनमा पनि पाँच अंकको ब्याट्री क्षमता अर्थात् १० हजार एमएएचभन्दा बढी क्षमताका ब्याट्री सामान्य रूपमा देखिएका छैनन्। सामसङले पनि आफ्नो ग्यालेक्सी एस अल्ट्रा शृङ्खलामा प्रयोग हुँदै आएको ५ हजार एमएएच क्षमताको ब्याट्रीलाई आगामी पुस्तामा बढाउने तयारी गरिरहेको चर्चा छ।
अनरले १४ हजारदेखि १५ हजार एमएएच क्षमताको ब्याट्रीलाई सफलतापूर्वक स्मार्टफोनमा प्रयोग गर्न सकेमा अन्य कम्पनीलाई पनि यस्तै प्रविधि अपनाउन दबाब पर्न सक्छ। त्यसले आगामी दिनमा स्मार्टफोनको प्रतिस्पर्धा क्यामेरा, प्रोसेसर र कृत्रिम बौद्धिकतामा मात्रै सीमित नरही ब्याट्री क्षमतामा समेत केन्द्रित हुने सम्भावना छ।
यद्यपि, अनरको नयाँ स्मार्टफोन कहिले सार्वजनिक हुन्छ भन्ने अझै स्पष्ट छैन। टिपस्टरका अनुसार यो स्मार्टफोन सन् २०२७ मा सार्वजनिक हुन सक्ने अनुमान छ। तर, परीक्षणको चरणमा रहेको यो फोन विश्व बजारमा उपलब्ध हुने वा चीनमै सीमित रहने भन्ने पनि टुङ्गो लागेको छैन।















