११ कार्तिक २०८३, बुधबार

मोरङ र नुवाकोटको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड,मंगलबार धुम्बाराहीमा राखिने



काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक हकदार ऋषि कट्टेल भएको तथा एमाले र माओवादी केन्द्रलाई पूर्ववतः अवस्थामा फर्काएसँगै मोरङ र नुवाकोटको पार्टी कार्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । पुनःस्थापित नेकपा एमालेले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको हो । यो क्रम अब देशैभर चल्ने एमाले नेताहरुले बताएका छन् ।

विराटनगर–११ पाञ्चालीमा यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय रहेको मदन स्मृति भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाइएको हो । ओली समूहका नेता कार्यकर्ता भेला भएर नेकपा एमाले मोरङ जिल्ला कमिटीको आयोजनामा पार्टी कार्यालयमा बोर्ड फेरिएको हो

यस्तै नुवाकोटमा सोमबार ओली पक्षले पार्टी कार्यालयमा रहेको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको बोर्ड राखेका छन् । एक कार्यक्रमका बीच विदुर नगरपालिका–४ मा रहेको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको अनेरास्ववियूका नेता विष्णु दाहालले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभा सांसद केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सांसद बद्री मैनाली, बिन्दा ढुंगाना तथा पूर्व मेयर कमानसिंह लामा लगायतको उपस्थितिमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

यसअघि पार्टी एकीकरणपश्चात नेकपाको बोर्ड राखिएको थियो । सर्वोच्चको फैसललाई सम्मान गर्दै जिल्ला कमिटी नुवाकोटले एमालेको बोर्ड राख्ने निर्णय गरेको बताइएको छ ।


त्यस्तै नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा भोलि नेकपा एमाले साइनबोर्ड राखिने नेकपा स्रोतले जनाएको छ ।