एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार अबैध, यस विषयमा बीमा समिति अन्योलमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार अबैध, यस विषयमा बीमा समिति अन्योलमा



काठमाडौं । दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर अवैधानिकरुपमा कारोबार हुने गरेको छ । नियमविपरीत दोस्रो बजारबाटै कम्पनीको संस्थापक सेयर पनि सर्वसाधारणको जस्तै गरी कारोबार हुने गरेको छ । नियमअनुसार संस्थापक सेयरको कारोबार गर्नुभन्दा अगाडि कम्पनीको बोर्डबाट स्वीकृति लिनुपर्छ । कम्पनीको बोर्ड हुँदै बीमा समिति र धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै कारोबार गर्न पाइन्छ । तर, कम्पनीको संस्थापक सेयरको कारोबार भने दोस्रो बजारमा अन्य सर्वसाधारण समूहको जस्तै गरी हुने गरेको भन्दै लगानीकर्ताहरूले विरोध गर्न थालेका छन् ।

बीमा समितिले चार वर्ष अगाडि बीमा कम्पनीहरूलाई पुँजी बृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीले ६ सय प्रतिशत हकप्रद सेयरको प्रस्ताव गरेको थियो । साधारणसभा र बीमा समितिबाट हकप्रद निष्काशनको स्वीकृतिपछि धितोपत्र बोर्डले भने रोकेको थियो । बोर्डले नियमअनुसार कम्पनीको सर्वसाधारण र संस्थापक सेयरधनी समूह नछुट्टिएको भन्दै संस्थापक र सर्वसाधारण सेयरधनी छुट्टाउन निर्देशन दिएको थियो ।

बोर्डको यस्तो निर्देशनसँगै कम्पनीले सुरुमा १०५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, हकप्रद सेयरबाट कायम सेयरधनीलाई संस्थापक सेयरधनी मान्ने प्रस्ताव गरेको थियो । कम्पनीको यस्तो प्रस्तावले साधारण १०/२० कित्ता सेयर भएका सेयरधनी पनि संस्थापक सेयरधनी बन्नुपरेको थियो । थोरै–थोरै सेयर पुँजी भएका लगानीकर्ता पनि संस्थापक बन्नुपरेको भन्दै कम्पनीले नेप्सेबाट संस्थापक कायम भएका सेयरधनीलाई ‘ईआईसीपीओ’ को कोडबाट कारोबार गराइरहेको छ । यसरी कारोबार गराउने क्रममा नेप्सेले साधारण टिप्पणी पनि नउठाइ कारोबार गरेको पाइएको छ ।

जबरजस्ती संस्थापक सेयरधनी बनाइएको भन्दै लगानीकर्ताले कम्पनीलाई दोस्रो बजारमा सहज कारोबार गराउन दवाब दिएका थिए । लगानीकर्ताले दवाब दिएको भन्दै नियामक निकाय, नेप्से र कम्पनीका आधिकारिक प्रतिनिधिले आपसी मौखिक सहमतिमै कारोबार गरिएको नेप्सेले बताएको छ । गत मंसिर ११ गतेदेखि दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर कारोबार भैरहेको छ । बैधानिक बनाउने प्रयास नेप्सेले अवैधानिकरुपमा कारोबार गराइरहेको एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको कारोबारलाई बैधानिक बनाउन भन्दै नेपाल धितोपत्र बोर्डलाई पत्र काटेको छ । नेप्सेले नियमविपरीत दोस्रो बजारबाट संस्थापक सेयरलाई पनि सर्वसाधारणको जस्तै गरी कारोबार गराउँदै आएको छ ।

नेप्सेले नेपाल धितोपत्र बोर्ड, बीमा समिति र एभरेष्ट इन्स्योरेन्सको कुनै पनि आधिकारिक–पत्र तथा निर्देशनविना नै कारोबार खुला गरेपछि बैधानिकताको प्रश्न उठेको हो । नेप्सेको बदमासीले प्रचलित ऐन–कानुनविपरीत एभरेष्टको संस्थापक सेयर पनि सर्वसाधारणको जस्तै गरी कारोबार भैरहेको छ । बोर्डको कुनै पनि निर्देशनविना नै कारोबार खुला गरेपछि नेप्सेले ‘कारोबार खुला गर्ने निर्देशन पाऊँ’ भन्दै पत्र पठाएको छ । नेप्सेले आफूखुसी कारोबार खुला गर्यो, तर अहिले भने पत्र लेखेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । नेप्सेको पत्रसँगै यस विषयमा छलफल सुरु भएको उनले बताए । उनले भने, ‘संस्थापक सेयरको पनि दोस्रो बजारबाटै सजिलै कारोबार भैरहेकोले यस विषयलाई बैधानिक बनाउन नियामक निकाय बीमा समितिसँग छलफल गर्ने छौँ ।’ तर, यस विषयमा बीमा समिति आफैँ अन्योलमा छ ।

आवश्यक निर्देशन जारी गर्न नसक्दा समिति नियमन गर्न चुकिरहेको छ । प्रचलित कानुनअनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले संस्थापक सेयरधनीको कारोबार अन्य सर्वसाधारणको जस्तै गरी कारोबार गर्न पाउँदैनन् । संस्थापक सेयरधनीको कारोबारका लागि कम्पनीको सञ्चालक समिति तथा नियामक निकायबाट स्वीकृति लिनुपर्छ । नेप्सेले कम्पनी तथा सेयरधनीको प्रभावमा परेर आफूखुसी स्वाट्ट कारोबार खुला गरिदिएपछि बैधानिकतामाथि प्रश्न उठेको हो । सर्वसाधारण सेयरधनीहरूले यस विषयलाई लिएर धेरै दवाब दिएपछि आफूले कारोबार खुलाएको नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्र सिं साउदले जानकारी दिए । तर, यस्तो कारोवार आफूखुशी खुलाउने अधिकार उनलाई समेत छैन । बोर्डले हालसम्म यसबारे कुनै निर्देशन दिएको छैन ।

एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरधनीको संरचना फरक हिसाबले बनेको छ । हकप्रदबाट १०/२० कित्ताको संस्थापक सेयरधनी बनेका छन् । उनीहरूलाई कारोबार गर्न बास्तवमै गाह्रो हुन्छ । तर, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र कम्पनीसँग आवस्यक छलफल गरेर के–कसरी कारोबार गर्ने भन्दै आधिकारिक निर्णयविना नै स्वेच्छिक हिसाबले कारोबार खुला गर्दा नेप्सेलाई कानुनी प्रश्न उठेको हो । निश्चित प्रतिशतभन्दा माथिको संस्थापक सेयर कारोबार गर्न नपाउने वा कुनै एक किसिमको मोडालिटी बनाउनुपर्ने थियो । संस्थागत सुशासनविपरीत कारोबार खुला हुँदा नेप्से आफैँ समस्यामा परेको हो ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्