उपत्यकामा थप ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान
काठमाडौँ । काठमाडौँ उपत्यकाको थप ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । उपत्यकाको ३१ चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सहयोगमा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको छ ।
काठमाडौँ उपत्यकामा जडान भएका ट्राफिक बत्तीमध्ये २० सडक विभाग, चार ललितपुर महानगरपालिका, दुई काठमाडौँ महानगरपालिका, दुई माछापुच्छ्रे बैंक, एक सनराइज, एक प्राइम र एउटा त्रिपुरेश्वर रोटरी क्लबको सहकार्यमा जडान गरिएको हो । जसमध्ये अल्का अस्पताल अगाडि, महापाल चोक, हरिहरभवन र पुल्चोक ललितपुर महानगरपालिका, ल्होत्से चोक र भाटभटेनी चोकको काठमाडौँ महानगरपालिका, लैनचौर र एकेडेमी मोडको माछापुच्छ्रे बैंक, गैह्रीधारा चोकको सनराइज बैंक, कृष्ण पाउरोटी चोकको प्राइम बैंक र त्रिपुरेश्वर चोकको त्रिपुरेश्वर रोटरी क्लबले जडानमा सहकार्य गरेका हुन् ।
नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । २०३७ सालमा जाइकाको सहयोगमा उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । जाइकाले बत्ती जडान गरेको केही समय बत्ती बलेर ट्राफिकले केही सहजता पाए पनि पछि बत्ती बिग्रेसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।
महाशाखाले केही समयपहिले गरेको अध्ययनमा काठमाडौँ उपत्यकाभित्र हुने ट्राफिक जाम न्यूनीकरणका लागि १३९ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने देखिन्छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।













