कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १९ गते, बिहीबार) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार नेप्से बन्द हुने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको दशौं र एघारौं वार्षिक साधारण सभा वैशाख ७ गते मंगलबार, टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा बिहान ८ बजेबाट सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाको सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ प्रतिशत र सर्वसाधारणतर्फ ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।













