रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, मंगलबारसम्म कति पर्यो आवेदन ?
काठमाडौं । शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कमपनीले शुक्रबारदेखि आइपीओ निष्काशन गरेको मंगलबार साढे ९ बजेसम्म १४ लाख ४२ हजार ७४९ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३ लाख ९७ हजार ६२० कित्ताका लागी २ अर्ब ३० करोड ९७ लाख ६२ हजार रुपैयाँ संकलन भएको एनएमबी क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।
कम्पनीको आइपीओमा छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपश्चात चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।













