सोमबार नेप्से हालसम्म कै उच्च, नयाँ रेकर्ड बनाउँदै साढे ७ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्म कै उच्च बिन्दुमा आएर बन्द भएको छ । नयाँ बर्षको आगमनसँगै बजारमा रौनकता छाएको हो । नेप्सेमा हालसम्म कै उच्च बीन्दुमा आएर बन्द भएको छ । सोमबार यसअघिका सबै रेकर्ड तोड्दै नेप्से परिसूचक १७.२० अंकले बढेर हालसम्म कै उच्च २६९१.५५ अंकमा आएर बन्द भएको छ ।

यस अघि गत मंगलबार (चैत्र २४ गते) नेप्से परिसूचक २६७४.४६ अंक बनाएर उच्च बिन्दु कायम भएको थियो भने सोमबार उक्त रेकर्ड तोड्दै नयाँ किर्तीमान कायम गरेको हो । सोमबार नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेको छ । सोमबार दिनभरिमा २१६ कम्पनीको १ करोड ३६ लाख ३२ हजार सेयर कित्ता किनबेच हुँदा ७ अर्ब ५० करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार दिनभर उतार चढावका बीच नेप्सेमा माइक्रोफाइनान्सको ३.६४ प्रतिशत, जीवन बीमा समूह १.१५ प्रतिशत, डेभलपमेण्ट बैंक समूह १.४३ प्रतिशतले बढेको छ भने होटेल तथा प्रयटनको १.८२ प्रतिशत, ट्रेडिङ समूह १.७७ प्रतिशत र हाइड्रो पावर समूह १.६३ प्रतिशतले घटेको छ ।













