रु रु जलविद्युतको आईपीओ भोलि शुक्रबार बाँडफाँड गरिने
काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड गरिने भएको छ । रु रु जलविधुत्को आईपीओ भोलि शुक्रबार (वैशाख ३ गते) बाँडफाँड गरिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
रु रु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गतेदेखि चैत्र २४ गतेसम्म सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात् ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो । ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९१६ जनाले १० कित्ता पाउने छन् भने बाँकि ७ जना भाग्यमानीले ११–११ कित्ता पाउने भएका छन् । यसरी कम्पनीको आईपीओमा ९८ प्रतिशत बढि लगानीकर्ताको हात रित्तो हुने देखिएको छ ।













