शनिबार कोरोना संक्रमणबाट १८७ जनाको ज्यान गयो, थप ८,१६७ जनामा कोरोना
काठमाडौं । शनिबार कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन ।
झापामा १७३, धनुषामा ११८, पर्सामा १०४, म्याग्दीमा १०३, सुनसरीमा ९९, तनहुँमा ८०, नुवाकोटमा ७९, काभ्रेमा ७० तथा दैलेखमा ७८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।













