२७ श्रावण २०८३, बुधबार

गाम्बियासँग पनि नेपालको कूटनीतिक सम्बन्ध



काठमाडौं । नेपाल र गाम्बियाले सोमबार दुई पक्षीय कूटनीतिक सम्बन्ध स्थापित गरेका छन् । यससँगै नेपालको १७० मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापित भएको छ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधी अमृतबहादुर राई र गाम्बियाली समकक्षी लाङ याबोले अमेरिकाको न्यूयोर्कस्थित नेपाली दूताबासमा आयोजित संक्षिप्त समारोहबीच ‘जोइण्ट कम्यूनिकी’मा हस्ताक्षर गरेका छन् ।

दुई मुलुकबीच स्थापित कूटनीतिक सम्बन्धबारेको जानकारी संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुटेरेजलाई दिइसकिएको नेपाली स्थायी नियोगले जनाएको छ ।

गाम्बिया पश्चिम अफ्रिकामा सेनेगल भन्ने मुलुकबाट चारैतिर घेरिएको सानो राष्ट्र हो । पश्चिममा एटलाण्टिक महासागर भएपनि त्यसको अधिकांश तटीय भाग सेनेगलको नियन्त्रणमा छ । जाम्बिया नदीको दुई किनारमा अलग्गै राज्य बसाएजस्तो देखिने यो मुलुक साहारा मरुभूमिको दक्षिणी सीमानजिक पर्छ । यो देशको नाम पनि त्यही नदीकै नाममा राखिएको छ ।

नेपालको २ नम्बर प्रदेशजस्ते पूर्वपश्चिम लामो रेखाजस्तो बनेको यो देश क्षेत्रफलमा पनि हाम्रो २ नम्बरप्रदेशभन्दा अलिकतिमात्रै ठूलो छ । यो मुलुकको क्षेत्रफल १० हजार ६८९ वर्ग किलोमिटर छ, जुन गण्डकी प्रदेशको ठ्याक्कै आधा हो । सन् २०१३ को जनगणनामा यो मुलुकमा १८ लाख ५७ हजार मान्छे बस्थे । २०२० मा जनसंख्या २१ लाख ७४ हजार पुगेको अनुमान छ ।

खेतिपाति गर्ने, माछामार्ने र थोरबहुत पर्यटनबाट हुने आम्दानीले यो मुलुकको अर्थतन्त्र चलेको छ । यो देशको कुल गार्हस्थ उत्पादन २०२० मा १ अर्ब ८१ करोड अमेरिकी डलर बराबर रहेको अनुमान छ । २०१५ को तथ्यांक अनुसार जाम्बियामा ४८.६ प्रतिशत जनसंख्या गरीबिमा बाँचिरहेका छन् । ग्रामीण क्षेत्रमा यस्तो गरिबीको दर ७० प्रतिशतसम्म छ ।

गाम्बिया दासप्रथाको जमानामा पश्चिम अफ्रिकाबाट दासको ब्यापार गर्ने एउटा मुख्य नाका थियो । यो क्षेत्रमा १५ औं शताब्दीको मध्येतिर पोर्चुगिजहरु समुद्री मार्गबाट पुगे । त्यसपछि ब्यापार बढाउन थाले । सन् १५८८ मा पोर्चुगलले गाम्बिया नदीमा ब्यापार गर्ने अधिकार बेलायतिलाई बेच्यो । त्यसपछि बेलायत सरकारले गाम्बिया नदीबाट अघि बढ्दै वर्तमान घाना रहेको गोल्डकोस्टसमेतलाई अधिनस्त गर्यो । सन् १६६४ मा औपचारिक रुपमै यो क्षेत्र बेलायतको उपनिवेश बन्यो ।

त्यसपछि पनि बेलायत र फ्रान्सले यो क्षेत्रको लुछाचुँडि गरिरहे । १८ फेब्रुअरी १९६५ मा यो भूभाग बेलायति उपनिवेशबाट मुक्त भयो । त्यसपछि पनि सेनेगलको अधिनस्थ रहेको यो क्षेत्र १९८९ को सेप्टेम्बर ३० मा ‘सेनेगाम्बिया महासन्धी’ कार्यान्वयनमा आएपछि पूणर्तः स्वतन्त्र भएको हो । जबकी, संयुक्त राष्ट्र संघमा भने यो मुलुक बेलायतबाट स्वतन्त्र हुनासाथ १९६५ को २१ सेप्टेम्बरमै प्रवेश गरेको थियो ।

नेपाल र गाम्बिया दुबै देश ‘ग्रुप ७७ एण्ड चाइना’ भनिने विकासोन्मुख मुलुकहरुको संगठन र असंलग्न आन्दोलनमा सँगसँगै रहँदै आएका छन् । यससँगै संयुक्त राष्ट्र संघका १९३ मुलुकमध्ये अब २३ मुलुकसँग नेपालले दुईपनक्षीय कूटनीतिक सम्बन्ध स्थापित गर्न बाँकी छ । ती मुलुकहरुसँग पनि क्रमशः कूटनीतिक सम्बन्ध स्थापित गर्दै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।