आजदेखि उपत्यकामा लकडाउन कडा, उल्लङ्घन गर्नेलाई नगद जरिवाना र कैद सजाय हुने
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा आज थप कडा गरिएको छ । शुक्रबारदेखि लकडाउनलाई थप कडाइ गरिनुका साथै कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नगद जरिवाना र कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।
यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ । बिनाकाम घरबाहिर निस्कीने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।
विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको र अप्ठ्यारो परेमा स्थानीय वडा कार्यालयमा वा टेलिफोन नं. १०३ मा सम्पर्क गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले लकडाउन उल्लङ्घन गर्नेलाई शुक्रबारदेखि जरिवाना लिने बताएका छन् । व्यक्तिलाई १ सयदेखि ५ सय रुपैयाँसम्म र सवारीसाधनलाई ५ सयदेखि ५ हजार रुपैयाँ जरिवाना लिने उनले बताए ।
उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।













