२६ श्रावण २०८३, मंगलबार

सुदुरपश्चिममा मुख्यमन्त्रीले पाए विस्वासको मत



काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सदनमा विस्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)बाट सदनमा प्रतिनिधित्व गरेका भट्ट पक्षमा ३० मत खसेको छ । त्यस्तै विश्वासको मतको विपक्षमा ९ मत प्राप्त भएको छ ।

मुख्यमन्त्री भट्टले राजनीतिक अस्थिरता र केन्द्रिय तहमा भएको दलीय मतभेदबीच विस्वासको मत लिने प्रस्ताव गरेका थिए । प्रदेश सभा बैठकमा ५१ जना सांसद उपस्थित रहेका थिए । जसमध्ये ३० जना पक्षमा, ९ जनाले विपक्षमा मतदान गरे भने कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन् ।

मुख्यमन्त्री भट्टलाई नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षका सांसदले मत दिएका छन् । एमालेको ओली पक्षका सांसदले विपक्षमा मत दिएका छन् । एमालेको नेपाल पक्षले मत दिएपछि कांग्रेस सांसद तटस्थ बसेका हुन् ।

मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निणर्य गरेको थियो । तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले विरोध गरेका थिए ।

कांग्रेस संसदीय दलको बैठकले आवश्यक परेमा मात्रै मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निणर्य गरेको थियो । एमालेकै सांसदले विश्वासको मत पुगेपछि कांग्रेस सांसद मतदानबाट बाहिरिएका हुन् ।