माडीमात्र होइन, भारतको अयोध्यामा पनि जग्गा किन्दा घोटला भएको भन्दै ब्यापक विरोध
काठमाडौं । चितवनको माडी स्थित राम जन्मभूमिको अन्वेषण गर्न सरकारले १ रुपैयाँ बजेट विनियोजन गरेको खबरले चर्चा पाइरहेको छ । सरकारले देशभरका पुरातात्विक सम्पदाको संरक्षण र विकासमा जम्मा ४८ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये १ करोड माडीस्को अयोध्यापुरी अन्वेषणका लागि विनियोजन भएको हो ।
नेपालमा यति साना बजेटमाथि चर्चा चुलिएका बेला भारतले अयोध्यामा निर्माण गर्न लागेको राम मन्दीरका लागि जग्गा खरीद गर्दा ठूलो रकम भ्रष्टाचार भएको आरोप लागेको छ । समाजवादी पार्टी र आम आदमी पार्टीका नेताहरुले जमीन खरीदमा घोटला भएको भन्दै विरोध चर्काइरहेका छन् ।
समाजवादी पार्टीका नेता पवन पाण्डेयले ‘श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट’ले साढे १८ करोड रुपयेमा किनेको जमीन त्यसको केही मिनेट पहिलेमात्रै २ करोडमा किनबेच भएको आरोप लगाएका छन् । यद्यपि, उक्त ट्रस्टका महामन्त्री चम्पत रायले भने चलनचल्तिको मूल्यभन्दा पनि सस्तो भाउमा आफूहरुले जमीन खरीद गरेको बताएका छन् ।
रायले उक्त जमीन १४२३ रुपये प्रतिवर्ग फिट (प्रतिआना ४ लाख ८७ हजार)का दरले किनेको र यो मूल्य त्यस क्षेत्रको चलनचल्तिमा रहेको बजारभाउ भन्दा निकै सस्तो भएको बताएका छन् । रायले एक विज्ञप्तीमार्फत् जग्गा खरीदमा कुनै भ्रष्टाचार नभएको, बरु यस मुद्दालाई राजनीतिकरण गरिएको बताए ।
त्यसलगत्तै हिजो दिल्लीका उपमुख्यमन्त्री एवम् आमआदमी पार्टीका नेता मनीष सिसोदिया र सांसद संजय सिंहले पत्रकार सम्मेलन गरेर ट्रस्टको. खण्डनप्रति प्रश्न उठाएका थिए । समाचार संस्था एएनआईका अनुसार कांग्रेसआई र अन्य विपक्षी दललेमात्र होइन धार्मिक गुरुले पनि उक्त घटनाप्रति चासो दिएका छन् । लामलला मन्दीरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासले यस घटनाको जाँच गर्न माग गरेको लेखेको छ ।
उक्त घटनाका बारे कांग्रेस आईका नेता राहुल गान्धीले ट्वीटरमा लेखेका छन्, ‘श्री राम स्वयम् न्याय, सत्य, धर्म हुन् । उनको नाममाथि धोका दिनु अधर्म हो ।’ कांग्रेसले यस मामिलामा आप्mनै निगरानीमा अनुसन्धान गराउन सर्वोच्च अदालतसँग माग गरेको छ ।
यो मुद्दालाई भारतमा प्रधानमन्त्री मुख्यमन्त्री योगी आदित्य नाथ, प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीलाई नै घेरा हाल्ने माध्यमको रुपमा विकास गर्न लागिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सधैं आपसमा मतभेद राख्ने दलहरु पनि यस मामिलाई एक स्वरले बोल्न थालेको बीबीसीले लेखेको छ । विपक्षी नेताहरुले राम मन्दीरलाई भाजपा र उसको धार्मिक अतिबादी संगठन आरएसएसका लागि व्यापार बन्न थालेको आरोप लगाएका छन् ।













