निषेधाज्ञामा टेण्डर नखाेल्न निर्माण व्यवसायिकाे माग
काठमाडाैं । नेपाल निर्माण व्यवसायि महाहसंघले निषेधाज्ञाकाे समयमा बाेलपत्र (टेण्डर) नगर्न सरकारसँग माग गरेकाे छ । मुलुक कोभिड–१९ को मारमा परेर दिनहुँ मानवीय क्षति बढ्दै गइरहेको भन्दै महासंघले यस्ताे माग अघि सारेकाे हाे । निषेधाज्ञाका कारण साइट भिजिट गर्न सक्ने अवस्था नभएको, प्रि-बीड मिटिङ हुन नसकेको, बैंकहरुले अति आवश्यक सेवामात्र दिइरहेको जस्ता कारण देखाउँदै महासंघका पदाधिकारीले यस्ताे बेलामा बाेलपत्र नगर्न अनुराेध गरेकाे हाे ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीसँगकाे भेटमा महासंघले हाल बैंक जमानत प्राप्त गर्नसमेत नसकेको बताए । उनीहरूले बोलपत्रको प्रक्रियामा व्यवसायीहरू सहभागी हुनै नसक्ने अवस्था विद्यमान भएकाे भन्दै यसबाट स्वच्छ प्रतिष्पर्धा नहुने र आर्थिक मिलोमतोसमेत हुनसक्ने बताएका छन् ।
अहिलेको अत्यन्त विषम परिस्थितिमा पनि संघीय, प्रदेश र स्थानीय सरकारका निकायहरूबाट अतिआवश्यक सेवा बाहेकका बोलपत्र आह्वान भइरहेकोमा महासंघले असन्तुष्टि पाेखेकाे छ । व्यवसायीले हाल जारी रहेका सम्पूर्ण खरिदका प्रक्रियाहरु स्थगित गर्न सरकारलाइ सुझाव दिएकाे छ । बरू, निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिएको भन्दै महासंघले रकम भुक्तानी गर्न आग्रह गरेको छ ।
निर्माण व्यवसायीहरूले निर्माण कार्यको सम्झौताको समयमा पेश गर्नु पर्ने बैंक क्रेडिट लाइनको व्यवस्था हटाउन पनि माग गरेकाे छ । यस्ताे क्रडिटलाइनका लागि चाहिने धितो लामो समयसम्म होल्डमा बस्ने र कमिशन पनि अत्याधिक उच्च रहेको बताए । फेरि राज्यलाई पनि यसबाट कुनै आम्दानी नहुने भएकोले निर्माण लागतमात्र बढ्ने महासंघकाे जिकिर छ ।













