२६ श्रावण २०८३, मंगलबार

घर बहाल कर घटाउने काठमाडौं महानगरको तयारी, अब बहुदरमा गणना गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिका घर बहाल कर घटाउने तयारी थालेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् बहाल कर घटाउने तयारी थालेको हो । महानगरले बहुदरका आधारमा कर लगाउने अभ्यासको सुरुआत गर्न लागेको बताएको छ ।

अहिले हरेक घरको बहाल रकममा १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । यो महँगो दरका कारण धेरै घरधनिहरु बहाल करको दायरामा आउन नसकेको महानगरका अधिकारीहरु बताउँछन् । उच्च दरको कर लगाउँदा सहभागिता नै कम हुने र राज्यले बढी शोषण गरेजस्तो पनि देखिने भन्दै बहाल करको संरचना नै फेर्ने तयारी थालेको हो ।

अब बाटो भए-नभएको वा बाटोको आकार अनुसार जग्गाको सम्पत्ती कर लगाइएजस्तै स्थान र पुर्वाधारका आधारमा घरको बहालकर गणना गर्ने व्यवस्था गर्न लागिएको हो । यस्तो व्यवस्थाले घरधनिहरुलाई सहभागिताका लागि सहज हुने अनुमान गरिएको छ ।

त्यसो त, यस बारेमा लामो समयदेखि चर्चा चल्दै आएको थियो । भित्रि शहरमा पहिले नै सस्तो लागतमा बनाइएका र लागत पहिल्यै उठिसकेका घरका लागि जुन दरमा कर लगाइएको छ, ठूलो ऋण लिएर भर्खर बनाइएका घरमा पनि त्यही दरको कर लगाउँदा विभेद भएको गुनासो पहिलेदेखि नै उठिरहेको थियो ।

शहरको बाहिरी क्षेत्रमा निर्माण भएका बस्तीमा घर बहाल (कोठा भाडा) रकम पनि तुलनात्मक रुपमा कम हुने गरेको छ । यस्तो न्यून बहाल रकमले घरको लगानी उठाउन ज्यादै धेरै समय लाग्ने देखिएपछि घर बहाल करको पुनरसंरचना गर्ने निचोडमा महानगर पुगेको हो ।

बहाल करको दरमा हुने हेरफेरले धेरै घरधनिलाई राजश्वको दायरामा तान्न सघाउ पुग्ने र यसले कोठा भाडामा थप दायित्व सिर्जना नहुने महानगरको अपेक्षा छ । यो नीति कार्यान्वयनपछि महानगरले ५ अर्ब रुपैयाँ वार्षिक राजश्व बहाल करबाट उठाउने लक्ष्य राखेको छ ।