२६ श्रावण २०८३, मंगलबार

मन्त्री परिषदका पाँच जनामा मन्त्रालय बाँडफाँट, एक जनाको भागमा दुईदेखि पाँच मन्त्रालय



काठमाडौं । राष्ट्रपति कार्यालयले बाँकी रहेका ५ जना मन्त्रीलाई कार्यभार बाँडेकी छन् । सर्वोच्च अदालतले २० जना नवनियुक्त मन्त्रीलाई काममा नलगाउनू भन्दै अन्तरिम आदेश जारी गरेपछि राष्ट्रपतिले बाँकी मन्त्रीहरुलाई नै सबै मन्त्रालयको बाँडफाँट गरेकी हुन् ।

मन्त्रीहरुको कार्यभार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले तोक्ने संवैधानिक प्रावधान अनुरुप यस्तो निणर्य भएको हो । अब प्रधानमन्त्री केपी शर्मा ओलीको भागमा रक्षा र परराष्ट्र मन्त्रालयमात्रै परेको छ । हाल अर्थमन्त्री रहेको विष्णुप्रसाद पौडेललाई गृह, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग बाण्ज्यि तथा आपूर्ति मन्त्रालय थपिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री रहँदै आएका कृष्णगाेपाल श्रेष्ठलाई वन तथा वातारवरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रहँदै आएका वसन्तकुमार नेम्वाङको भागमा पनि पाँच मन्त्रालय परेको छ ।

नेम्वाङलाई कृषि तथा पशुपक्षिं विकास, खानेपानी, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय थप गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि लिलानाथको भागमा थपिएको छ ।