१७ कार्तिक २०८३, मंगलबार

इन्भेष्टमेण्टसँगको मर्जर भाँड्न हिमालयनका कर्मचारीले बढाए दबाब, आन्दोलन गर्ने चेतावनी



काठमाडौं । दुई पुराना र ठूला बैंकको मर्जरले नेपालको बैकिङ प्रणालीमा नयाँ आयाम थप्ने उत्साह बढिरहेकै बेला उक्त मर्जरको विरोधमा पनि चर्का आलोचना हुन थालेका छन् । पछिल्लो पटक हिमालयन बैंकका कर्मचारीहरुले उक्त मर्जरको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएको बैंक स्रोतले जनाएको छ ।

हिमालयनका कर्मचारीले सम्भावित कर्मचारी कटौति, अवकाश योजना र सरुवाको विषयलाई लिएर व्यवस्थापनमाथि दबाब सिर्जना गरेका हुन् । ‘बैंक गाभिएपछि कर्मचारीलाई कम सेवा सुविधामा बाध्यात्मक अवकाश योजना ल्याउनसक्ने भन्दै दबाब दिइएको छ,’ बैंकका एक उच्च अधिकारीले भने । अहिले पनि इन्भेष्टमेण्टमा भन्दा हिमालयनमा कर्मचारीको सेवासुविधा निकै आकर्षक छ । यही कारण मर्जरपछि समान हैसियतका कर्मचारीमा इन्भेष्टमेण्ट तर्फका कर्मचारीको सेवासुविधा बढाउने सहमति भएको छ ।

दुबै बैंकबीच मर्जरको समझदारी हुँदा एकीकृत कारोबार सुरु हुनु अगावै कर्मचारी कटौति गर्ने भनिएको थियो । यही कार्ययोजना अनुरुप कर्मचारी कटौतिको प्रक्रिया अघि बढ्ने संकेत मिलेपछि हिमालयनका कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । बैंक स्रोतका अनुसार हिमालयन उच्च व्यवस्थापन तहमा भएका अधिकारीहरु नै तल्लो तहका कर्मचारीलाई विरोधका लागि उक्साइरहेका छन् ।

‘निश्चित अवधिसम्म काम गरिसकेका र उत्पादकत्व कम भएका कर्मचारीलाई बाध्यात्मक अवकाश दिने तयारी बैंकले थालेको छ,’ हिमालयनका एक अधिकारीले भने, ‘यस्तो बेला उच्च व्यवस्थापनकै धेरै कर्मचारीले अवकाश पाउने संभावना छ ।’ हिमालयनको उच्च व्यवस्थापनका कर्मचारीप्रति दुबै बैंकका प्रमुख शेयरधनिहरु खुसी छैनन् ।

ठूलो संभावना बोकेको बैंक भए पनि कर्मचारीले दोहनमात्रै गर्ने, तर बैंकको विस्तारमा काम नगरेको उनीहरुले आरोप लगाउँदै आएका छन् । ‘काम गरेर सेवा सुविधा माग्नु स्वभाविक हो । तर काम नगर्ने, बैंकलाई दोहनमात्रै गर्ने परिपार्टी उच्च व्यवस्थापनमा छ,’ एक सञ्चालकले भने, ‘त्यस्ता व्यवस्थापकलाई नहटाउने हो भने मर्जरपछि बैंकले अपेक्षित गति लिन सक्दैन ।’ उनले यही आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनले पनि हिमालयनका उच्च व्यवस्थापकको अक्षमतालाई सुस्पष्ट दर्शाउने बताए ।

आफूहरुलाई हटाउने तयारी भएको थाहा पाएपछि हिमालनका उच्च व्यवस्थापकीय भूमिकामा भएका कर्मचारीले भने तल्लो तहका कर्मचारीलाई उचाल्न थालेको स्रोतको भनाइ छ । ‘उनीहरुले तल्लो तहका कर्मचारीलाई पनि बैंकले हटाउने तयारी गरेको भनेर उचालेका छन्,’ स्रोतले भन्यो । मर्जरमा जाँदा पनि इन्भेष्टमेण्टबाट आएका कर्मचारीको मात्रै सेवासुविधा बढाउने तयारी भएको भन्दै कर्मचारीलाई विरोधमा उतार्ने कोशिस भएको ती अधिकारीले बताए ।

इन्भेष्टमेण्ट बैंकलाई भने कर्मचारी कटौतिमा त्यति समस्या छैन । उसले धेरै ठूलो संख्यामा अहिले पनि करार र बाह्य स्रोत (आउट सोर्सिङ)मा कर्मचारी राखेको छ । बैंकको सेवा सुविधा पनि कम भएकाले उनीहरुलाई जागिर छाड्न पनि समस्या छैन । खाइपाइ आएको सेवासुविधाका हिसाबले अवकाश योजना ल्याउँदा लाग्ने लागत पनि कम पर्ने बैंकर बताउँछन् ।

त्यसो त, इन्भेष्टमेण्टमा कर्मचारी युनियन पनि सक्रीय छैन । यसले गर्दा कर्मचारीको संगठित विरोध नहुने र कर्मचारी हटाउन सजिलो पर्ने छ । अहिले इन्भेस्टमेण्टसँग करीब १५ सय र हिमालयनमा १ हजारको हाराहारीमा कर्मचारी छन् । करार र आउटसोर्सिङ हटाउँदा तल्लो तहको कर्मचारीलाई अवकाश दिने संभावना निकै कम भएको बैंकका अधिकारी बताउँछन् ।

मर्जरपछि बैंकलाई आक्रामक विस्तरामा लाने योजना नै बनिसकेको छ । पहिलो वर्ष नै उपत्यकाभित्र ८ वटा नयाँ शाखा खोल्ने योजना बनाइएको बैंकका अधिकारीले जानकारी दिए । त्यसरी शाखा विस्तार गर्दा भइरहेका कर्मचारीलाई व्यवस्थापन गर्न सजिलो पर्ने बैंकर बताउँछन् । स्रोतका अनुसार केही कर्मचारी भने अहिले भइरहेको ‘घरपायक’ जागिरबाट सरुवा हुनुपर्ने जोखिमले पनि सताएको हुनसक्छ ।