विश्व बैंकको प्रतिवेदन भन्छः खिम्ती नै नेपालको सबैभन्दा उत्कृष्ठ पीपीपी परियोजना
काठमाडौं । विदेशी मुद्रामा विद्युत् खरीद सम्झौता गरेर नेपाल विद्युत् प्राधिकरणमाथि भार पार्नेमात्र होइन, जनताको घरमा बाल्ने विजुलीको भाउ समेत महँगो पारेको खिम्तीलाई विश्व बैंकले सर्वोत्कृष्ट परियोजना भनेको छ ।
विश्व बैंकले भर्खरै सार्वजनिक गरेको एउटा प्रतिवेदनले नेपालमा सार्वजनिक निजी साझेदारीमा आधारित परियोजनामध्ये सबैभन्दा सफल आयोजनाका रुपमा खिम्ती हाइड्रोपावरलाई नमुना मानेको हो । विश्व बैंकले प्रकाशित गरेको ‘हिडन डेब्ट’ नामक प्रतिवेदनले खिम्ति १ जलविद्युत् आयोजना नेपालको बूट मोडेलमा विदेशी लगानीकर्ताले सञ्चालन गरेको पहिलो आयोजना भएको उल्लेख छ ।
यो परियोजनाले नेपालमा जलवायु परिर्वतनसँग जुध्न निकै राम्रो काम गरेको प्रतिवेदनमा भनिएको छ । सरकारले नर्वेजियन लगानी भित्र्याउन विदेशी आफ्नो देशमा उत्पादित विजुली विदेशी मुद्रामा किन्ने नीति लिएका कारण ६० मेगावाटको यो आयोजनाका कारण अहिले विद्युत् प्राधिकरणले हरेक वर्ष करोडौं रुपैयाँ घाटा व्यहोर्नु परेको छ ।
पछिल्लो समय त खिम्तिले खोलामा बढी पानी आएको भन्दै हिउँदमा भनेको भन्दा पनि बढी विजुली उत्पादन गरेर महँगो शुल्क लिएको खबरहरु बाहिर आएका छन् । यही आयोजनाका कारण नेपालमा विदेशी लगानीका जलविद्युत् आयोजनाको विजुली अमेरिकी डलरमा किन्नेबारे विभिन्न विकल्पमाथि छलफल भए पनि राजनीतिक विबाद उत्पन्न भइरहेको छ ।
उक्त प्रतिवेदनले दक्षिण एसियाका देशहरुमध्ये भारतमा हैदराबादको राजीव गान्धी अन्तरराष्ट्रिय विमानस्थल, बंगलादेशको तेस्रो ठूलो शहर खुल्नाको शहरी पुर्वाधार परियोजना र श्रीलंकाको ‘साउथ एसिया गेटवे टर्मिनल’लाई दक्षिण एसियाकै सर्वाधिक सफल आयोजनाको रुपमा चित्रण गरेको छ ।













