फिलिपिन्समा सैनिक विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्समा ९२ जना सवार एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ । सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन् ।
देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन् । अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ ।
उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ । जोलो टापु नजिकै विमान दुर्घटनामा परेको हो ।
स्थानीय समयानुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा दक्षिणी भूभागमा उग्रवादी अबु सैय्यफ समूहसँग लड्न सैन्य बल बढाउने योजना अन्तर्गतका सैनिकहरू रहेको बताइएको छ ।
‘धावनमार्ग छोड्यो, फेरि उड्न खोज्यो तर सकेन’, सशस्त्र प्रमुख किरिलिटो सोबेजानाले बताए । फिलिपिन्सको राज्य सञ्चालित समाचार संस्थाले प्रकाशन गरेको तस्बिरमा बस्ती नजिकै रूखहरूबीच जलेको विमान देखिन्छ ।
बीबीसीबाट ।













