२६ श्रावण २०८३, मंगलबार

ऋण उठाएको उठाइ सरकार, एक हप्तामा ३० अर्ब थपियो



काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा सरकारले भारी मात्रामा ऋण उठाएको छ । पछिल्लो एक हप्तामा मात्रै सरकारले ३० अर्ब रुपैयाँभन्दा बढी आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले गएको सोमबार ११ अर्ब १० करोड रुपैयाँको ९१ दिने र १० अर्ब रुपैयाँको १८२ दिने ट्रेजरी बिल्स जारी गरेको छ ।

सरकारले स्वदेशी बजारबाट ऋण उठाउँदा राष्ट्र बैंकमार्फत् उठाउँछ । नागरिब बचतपत्र, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्रजस्ता दीर्घकालिन योजनाका साथसाथै ट्रेजरी बिल्स भनिने अल्पकालिन योजनाबाट सरकारले ऋण उठाउँछ । यसमध्ये पनि ट्रेजरी बिल्स सबैभन्दा धेरै ऋण उठाउने माध्यम हो ।

केन्द्रिय बैंकले १ वर्ष वा त्योभन्दा छोटो समयका लागि सरकारलाई ऋण उठाइदिने व्यवस्थालाई ट्रेजरी बिल्स भनिएको हो । नेपालमा ३ महिना (९१ दिन), ६ महिना (१८२ दिन) र १ वर्ष (३६४ दिन)का लागि ट्रेजरी बिल्स जारी गर्ने प्रचलन छ ।

गत साता राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल्समा बैंक तथा वित्तीय संस्थाले ५.१४ प्रतिशतसम्म ब्याजदर प्रस्ताव बरेका थिए । ट्रेजरी बिल्समा सरकारले प्रदान गर्ने ब्याजको दरलाई बट्टादर (डिस्काउण्ट रेट) भनिन्छ । गत साता जारी ट्रेजरी बिल्समध्ये ९१ दिनका लागि ३.६३ देखि ५.१४ प्रतिशतसम्म बट्टादर प्रस्तुत गरिएको थियो । ६ महिने ट्रेजरी बिल्समा भने ३.५२ देखि ५.०२ प्रतिशतसम्म बट्टादर प्रस्ताव गरिएको थियो ।

यद्यपि, बैंक तथा वित्तीय संस्थाले पर्याप्त रकम सरकारलाई ऋण दिनसक्ने जनाउ भने दिएका छन् । उनीहरुले प्रस्तावित रकमभन्दा तनि गुणा बढी ऋण सरकारलाई दिन तयार रहेको प्रस्ताव गरेका छन् । गतसाता २० अर्ब १० करोडको ट्रेजरी बिल्स जारी गर्दा बैंक वित्तीय संस्थाले ६७ अर्ब ५३ करोड रुपैयाँ ऋण दिने प्रस्ताव गरेका थिए ।