भोलिबाट घरघरमा तामाकोशीको विजुली, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने
काठमाडौं । हालसम्म निर्माण भएकामध्ये देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको भोलि उद्घाटन हुने भएको छ । दोलखामा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत् जलविद्युत् आयोजनाको निर्माण सकिएको बताइएको छ । भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उक्त आयोजनाको उद्घाटन गर्ने छन् ।
पहिलो चरणमा तामाकोशीबाट ७६ मेगावाट विजुली उत्पादन हुने छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजनामा ७६/७६ मेगावाट जडित क्षमताका ६ वटा एकाई (टर्बाइन) जडान गरिएको छ । भोलि पहिलो एकाबाटमात्रै उत्पादन थाल्न लागिएको हो ।
यसमा पनि १५ दिन परिक्षण उत्पादन हुने छ । परिक्षण उत्पादन भनेको नेपाल विल्द्युत् प्राधिकरणले निःशुल्क विजुली पाउने समय पनि हो । १५ दिनसम्म कुनै समस्या नआएको अवस्थामा मात्रै प्राधिकरणले पैसा तिर्नेगरी व्यवसायिक उत्पादनमा रुपान्तरण हुने छ ।
आयोजनाका सबैजसो भौतिक संरचनाहरुको परिक्षण सकिएको बताइएको छ । यसअघि नै आयोजना उद्घाटन गर्न लाग्दा संरचनामा जोखिम बढेको भन्दै स्थगित गरिएको थियो । २०६२ सालबाट निर्माण सुरु गरिएको यो आयोजनामा मुख्य संरचनाको निर्माण सुरु गर्न पाँच वर्ष लागेको थियो । २०६७ बाट मूल संरचनाको काम थालिएको भए पनि भर्खरै मात्र निर्माण सकिएको छ ।
तामाकोशी जलविद्युत् आयोजना नेपालको आन्तरिक लगानीमा निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना पनि हो । यसलाई सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाएको थियो । निर्माण सुरु भएको १६ वर्षपछि यस आयोजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिन लागेको हो ।













