अमेरिकाले १५ लाख सिंगल डोज कोरोना खोप आजै पठाउँदै
काठमाडौं । अमेरिकाले अबको केही घण्टाभित्रै नेपालका लागि १५ लाख मात्रा (डोज) कोरोना भाइरस विरुद्धको खोप पठाउने तयारी थालेको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले ह्वाइट हाउसका अधिकारीहरुलाई उद्धृत गर्दै यसबारे खबर छापेको छ ।
अमेरिकी प्रशासनले शुक्रबार (आज) नै उक्त परिमाणमा खोप पठाउने बताएको छ । नेपालमा अहिले बेलुकाको ७ बज्दा अमेरिकामा विहानको सवा ९ बज्ने छ । यही समयान्तरका कारण अबको केही घण्टापछि मात्रै उक्त खोप ‘शिपिङ’ हुने छ । यस पटक अमेरिकाले नेपालसहित भुटानलाई पनि ५ लाख मात्रा खोप पठाउने भएको छ ।
रोयटर्सका अनुसार भुटानलाई मोडेर्नाको खोप पठाउन लागिएको छ भने नेपाललाई जोनसन एण्ड जोनसनको खोप पठाउने तयारी भएको छ । यसअघि अमेरिकाले गत साता नै पाकिस्तान र बंगलादेशलाई पनि २५÷२५ लाख मात्रा मोडेर्नाको खोप प्रदान गरेको थियो ।
जोनसनको खोप एक जनाले एक डोजमात्रै लगाए हुन्छ । यसले गर्दा १५ लाख मात्रा जोनसनको खोप ल्याउनु भनेको मोडेर्ना वा अरु कुनै पनि भ्याक्सिन ३० लाख डोज आउनु बराबर हो । यसअघि अमेरिकाले ६ लाख मात्राको हाराहारीमा मात्रै खोप नेपाललाई दिने अनुमान गरिएको थियो । अमेरिकाले आफ्नो देशमा उत्पादित ८ करोड मात्रा खोप विकासोन्मुख मुलुकहरुलाई दिने बताएको छ ।
नेपालालाई पठाउन लागेको खोप पनि यही कार्यक्रम अन्तरगत हो । जसलाई विश्व स्वास्थ्य संगठन अन्तरगतको कोभ्याक्स कार्यक्रमसँग जोडिएको छ । गत साता बाइडन प्रशासनले मलेसियालाई फाइजर र बायोएनटेक कम्पनीले उत्पादन गरेका १० लाख मात्रा खोप पठाउन लागेको घोषणा गरेको थियो । त्यस्तै मोडेर्नाको ४० लाख मात्रा खोप इण्डोनेशियालाई पठाउन लागेको बताइएको थियो ।
आफ्ना नागरिकलाई ठूलो मात्रामा खोप लगाउन उत्प्रेरित भएको अमेरिका पछिल्लो समय चीनले अघि सारेको ‘खोप कूटनीति’सँग प्रतिस्पर्धामा उत्रन थालेको रोयटर्सले लेखेको छ । अमेरिकाले फिलिपिन्स, भियतनाम, इण्डोनेशिया, थाइल्याण्ड, लाओस, पपुवा न्यू गिनी र कोलम्बियाजस्ता एसियाली मुलुकलाई पनि कोरोना भाइरस विरुद्धको खोप दिने घोषणा गरिसकेको छ ।
अमेरिकाले हालैमात्र ८ कुरोड डोजका अतिरिक्त थप ५० करोड डोज फाइजर र बायोएनटेक खोप किनेर अफ्रिकी संघलगायत न्यून आय भएका संसारका ९२ देशमा बाँड्ने घोषणा गरेको छ । चीन र अमेरिकाबीच ‘खोप कूटनीति’को बढ्दो प्रतिस्पर्धाले उनीहरुलाई भूराजनीतिक लाभ देला वा नदेला, तर संसार भरका मानिसहरुको ज्यान जोगाउन चाहीँ यसले महत्वपूर्ण उपलब्धी दिने छ ।













