प्रधानमन्त्री देउवालाई विश्वासको मत पाउन यस्तो छ अंक गणित, देलान् त नेपाल पक्षका ८ सांसदले ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
अहिले प्रतिनिधि सभामा २७१ सांसद छन् । जसअनुसार विश्वासको मतका लागि १३६ सांसद आवश्यक पर्ने देखिन्छ । अहिले देउवाको पक्षमा नेपाली कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र) का ४९, जनता समाजवादी पार्टी (जसपा) का १७ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरी कूल १२८ जना सांसद रहेका छन् । यो तथ्याङ्क हेर्दा देउवालाई ८ सांसद अपुग देखिन्छ । देउवाले विश्वासको मत पाउनका लागी नेकपा एमालेका ८ जना सांसद भए पुग्छ ।
देउवालाई प्रधानमन्त्री नियुक्त माग गर्दै नेकपा (एमाले) माधव पक्षका २३ सांसदले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर पार्टीले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ भने नेपाल पक्षका केही सांसदे भने विश्वासको मत दिने स्रोतले बताएको छ । नेकपा एमालेका १२१ जना सांसद छन् । जसपाको ३२ सांसद मध्ये ठाकुर र महतो पक्षमा १५ जनामा मात्रै सांसद रहेका छन् । ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।













