आजदेखि सेयर बजारमा नयाँ ३ नियम लागू, कुन नियम कस्ता छन् ?
काठमाडौं । आजदेखि सेयर कारोबार नयाँ ३ नियम लागू भएका छन् । नयाँ आर्थिक वर्ष २०७८–०७९ शुरु भएसँगै दोश्रो बजारमा आज पहिलो कारोबार भएको हो । तयसैले आजदेखि प्रिओपन सेसनको कारोबार सीमा घटाउने, कारोबार हुँदाको मूल्य परिवर्तन सीमा घटाउने र पूँजीगत लाभकरमा नयाँ व्यवस्था लागू भएको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा सरकारले गरेको व्यवस्थालाई कार्यान्वयन गर्दै नेप्सेले आजदेखिको सेयर कारोबारमा नयाँ व्यवस्था लागू गरेको हो ।
१. नेपाल स्टक एक्सचेन्ज लिमिटेड संचालक समितिको असार ३० गते बसेको वैठकले धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ स्वीकृत गरेको हो । प्रिओपन सेसनको कारोबार सीमा घटाएको हो । नियमित कारोबार हुनुभन्दा अघि (अर्थात प्रिओपन सेसन) को कारोबार सीमा घटाएर २ प्रतिशतमा झारेसँगै नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याएको हो । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको हो ।
२. बजारमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमा पनि घटाएको हो । न्युनतम मूल्य परिवर्तन १ रुपैयाँ रहेको उक्त सीमा घटेर १० पैसामा झारेको हो । योसँगै लगानीकर्ताले कुनैपनि धितोपत्र किनबेचमा न्युनतम १ रूपैयाँको मोलमोलाई न्युनतम १० पैसामा गर्न पाउने छन् । न्युनतम मूल्य परिवर्तन सीमा १० पैसाँ हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने छन् ।
३. सेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्ने छैन् । अध्यादेशमा ३६५ औ दिनमा के हुने भन्ने प्रष्ट नभएकोले ३६५ औ दिनलाई पनि सर्ट टर्म मानेर कारोबारी सरह कर लगाउन आन्तरिक राजश्व विभागले भनेको छ । सबै लगानीकर्ताले समान ५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेकोमा अब भने अल्पकालीन र दिर्घकालिन लगानीकर्ता छुट्याईन लागेको हो । खरिद गरेको १ वर्ष अगावै शेयर बिक्रि गरेमा अल्पकालीन लगानीकर्ताको रुपमा ७.५ पुँजीगत लाभकर लाग्ने भएको हो भने खरिद गरेको १ वर्षपछि शेयर बिक्रि गरे दीर्घकालिन लगानीकर्ताको रुपमा ५ प्रतिशत मात्र पुंजीगत लाभकर लाग्ने छ ।














