२६ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ सांसद



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । आज प्रनितिधि सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिगेका थिए ।

देउवाले मागेको विश्वासको मतमा पक्षमा १६५ मत र विपक्षमा ८३ मत प्राप्त भएको छ भने तटस्थमा १ मत खसेको छ । देउवाले प्राप्त गरेको मत प्रतिनिधि सभामा रहेको कुल मतको बहुमत हो । २१ जना सांसद अनुपस्थित रहेका थिए ।

देउवालाई नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।त्यसैअनुसार देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको भएपनि देउवाले आज विश्‍वासको मत लिएका हुन् ।