दोस्रो चरणको मन्त्रीपरिषद विस्तारमा प्रधानमन्त्री देउवा, को-को बन्दैछन् मन्त्री ?
काठमाडौं । प्रधामन्त्री शेर बहादुर देउवाले दोस्रो चरणमा मन्त्रीपरिषद विस्तार गर्ने भएका छन् । पहिलो चरणमा आफूसहित ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री देउवाले दोस्रो चरणमा मन्त्रीपरिषद विस्तार गर्ने तयारी थालेका हुन् । संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्री छनोटमा लागेका हुन् । पहिलो चरणमा आफ्नै पार्टी कांग्रेस र नेकपा माओवादीबाट २–२ जनालाई मन्त्री बनाएकोमा यसपटक भने उनले जनता समाज पार्टीबाट पनि मन्त्री बनाउनुपर्नेछ । आफ्नो सरकारमा नेकपा एमाले माधव नेपाल पक्षलाई पनि सहभागी गराउन प्रधानमन्त्री देउवाले प्रयास जारी राखेका छन् ।
कांग्रेस पार्टीले ११ जनासम्म मन्त्री पाउने पक्कापक्की जस्तै छ । देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्रीसहित ११ मन्त्रालय कांग्रेसको भागमा पर्ने सम्भावना छ । पाटीभित्रैबाट पनि देउवालाई रामचन्द्र पौडेल पक्ष र पूवमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट पनि मन्त्री बनाउनुपर्ने बाध्यता छ ।
स्रोतका अनुसार देउवापक्षबाट जीपछिरिङ लामा, मोहन आचार्य, बहादुरसिंह लामा मध्येबाट एक जना मन्त्री बन्नेछन् । पुष्पा भुसाल, रमेशजंग रायमाझी र अभिशेकप्रताप शाहमध्येबाट मन्त्री बन्ने छन् । मन्त्रीपरिषदमा महिलाको कोटा पुर्याउनुपर्ने भएकाले भुसालको सम्भावना बढि रहेको छ । यसअघि देउवा पक्षबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानून मन्त्री बनिसकेका छन् ।
यता बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्रकाशमान सिंह, सुजता कोइराला, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने चर्चा छ । पूर्वमहामन्त्री सिटौलाको समूहबाट भने गगन थापा र उमाकान्त चौधरीमध्ये एक जना बन्त्री बन्ने पक्कापक्की जस्तै रहेको स्रोतले बतायो ।
त्यस्तै, मन्त्री पदका लागी उद्योगपति बिनोद चौधरी पनि लविङ गरिरहेका छन् भने डा. मिनेन्द्र रिजालले पनि आफूलाई मन्त्री बनाउनु पर्ने भन्दै लबिङमा लागेको स्रोतले बताएको छ । डा. रिजाल यसअघि पहिलो चरणमा नै मन्त्री बन्ने चर्चा थियो तर कुन मन्त्रालय दिने भनेर टुंगो लागेको थिए । डा.रिजाल महामन्त्री डा. शशाङ्क कोइराला निकट मानिन्छन् भने नेता बडु वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्री बन्ने सम्भावना छ ।
यता माओवादीबाट दोस्रो चरणमा देवेन्द्र पौडेल, देव गुरुङ, वर्षमान पुन, कृष्ण बहादुर महरालाई मन्त्री बन्ने चर्चा छ । पहिलो चरणमा माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुषाललाई उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बनाएको हो । जनता समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव र महन्थ ठाकुर समुहबाट राजेन्द्र महतो लगायतका नेताहरु मन्त्री बन्ने चर्चा छ । यता नकेपा एमाले (माधव नेपाल) समूह सरकारमा जाने वा नजाने टुंगो लागेको छैन् । साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत पाएसँगै दोस्रो चरणमा सरकार विस्तार गर्ने तयारी थालेका हुन् ।













