२६ श्रावण २०८३, मंगलबार

एसईईको नतिजा साउनमै आउने, आन्तरिक मूल्यांकनको अंक ‘इण्ट्री’ अन्तिम चरणमा



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही साउन मसान्तभित्रै प्रकाशन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । यो वर्ष कोरोना महामारीका कारण बोर्डले आन्तरिक मूल्यांकनमा आधारित नतिजा प्रकाशन गर्ने भएको हो ।

परीक्षा बोर्डका अनुसार अहिले आन्तरिक मूल्यांकनको प्राप्तांक (नम्बर) ‘इन्ट्री’ गर्ने काम भइरहेको छ । गत जेठ १३ देखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर कोभिड १९ दोस्रो लहरको संक्रमण बढ्न थालेपछि गएको २७ वैशाखमा एसईई परीक्षा स्थगित गरिएको थियो ।

कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । कोभिडकै कारण २०७६ को एसईई परीक्षा पनि हुन नसकेपछि आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित भएको थियो ।