अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पलाई ठूलो धक्का: कंग्रेस र सिनेट दुवैमा डेमोक्र्याटिक पार्टीको कब्जा
काठमाडाैं । अमेरिकी मध्यावधि निर्वाचन सन् २०२६ मा डेमोक्र्याटिक पार्टीले ऐतिहासिक जित हासिल गर्दै अमेरिकी संसद (कंग्रेस) का दुवै सदन-सिनेट र प्रतिनिधि सभा (हाउस अफ रिप्रिजन्टेटिभ्स) मा बहुमत हासिल गरेको छ।
करोडौँ अमेरिकी मतदाताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै रिपब्लिकन पार्टीका पकेट क्षेत्र मानिएका राज्यहरूमा समेत डेमोक्र्याटलाई विजयी गराएका हुन्।
यस निर्वाचनमा डेमोक्र्याटिक पार्टीको लहर (ब्लु वेभ) यति बलियो देखियो कि लामो समयदेखि कट्टर रिपब्लिकनको पकड मानिएका साउथ क्यारोलाइना, टेक्सस, ओहायो र आयोवा जस्ता राज्यहरूमा पनि डेमोक्र्याटहरूले बाजी मारेका छन्।
क्यानसासमा चर्चका पादरी एडम ह्यामिल्टनले सिनेट सीट जित्दै करिब एक शताब्दी (महामन्दी/ग्रेट डिप्रेसन) यता सिनेट जित्ने पहिलो डेमोक्र्याट बनेका छन्। यस्तै उपराष्ट्रपति जेडी भान्सले दुई वर्षअघि जितेको ओहायोको सिनेट सीटमा डेमोक्र्याट सेरोड ब्राउन विजयी भएका छन्।
सन् २०२४ मा ट्रम्पले दोहोरो अङ्कको फराकिलो अन्तरले जितेको टेक्ससमा बाहिरी फन्डिङ र दबाबका बाबजुद डेमोक्र्याटिक राज्य प्रतिनिधि जेम्स तालारिकोले विवादित रिपब्लिकन महान्यायाधिवक्ता केन पाक्सटनलाई पराजित गरे भने सन् २०२४ मा ट्रम्पले १८ अंकले जितेको साउथ क्यारोलाइनामा बालरोग विशेषज्ञ एनी एन्ड्र्युजले रिपब्लिकन सिनेटर डार्लिन ग्राहम (दिवंगत सिनेटर लिन्डसे ग्राहमकी बहिनी) लाई हराइन्।
सिनेट, प्रतिनिधि सभा र गभर्नर पदहरूमा वर्चस्व
डेमोक्र्याटहरूले रिपब्लिकनबाट कुल ६ वटा सिनेट सीट खोस्न (फ्लिप गर्न) सफल भएका छन्, जसले गर्दा रोय कुपर, एनी एन्ड्र्युज, सेरोड ब्राउन, एडम ह्यामिल्टन र जेम्स तालारिकोसहितका नेताहरूको जितसँगै सिनेटमा उनीहरूको प्रस्ट बहुमत पक्का भएको छ। प्रतिस्पर्धात्मक मानिएका मिसिगन र मिनेसोटामा नतिजा जस्तै आए पनि सिनेटमा डेमोक्र्याटको बहुमत सुरक्षित भइसकेको छ।
त्यस्तै, प्रतिनिधि सभामा पनि केन्टकी, न्यु जर्सी र नर्थ क्यारोलाइना जस्ता राज्यहरूबाट कम्तीमा ८ वटा रिपब्लिकन सीट खोस्दै डेमोक्र्याटहरू बहुमततर्फ अघि बढेका छन्। गभर्नरको चुनावमा पनि डेमोक्र्याटको दबदबा रहेकाे छ। यस्तै टेक्ससमा लगातार तीन कार्यकाल सम्हालेका रिपब्लिकन गभर्नर ग्रेग एबोटलाई डेमोक्र्याट जिना हिनोजोसाले पराजित गरिन्। साथै, आयोवा र ओहायोमा पनि डेमोक्र्याटहरूले नै गभर्नर पद हात पारेका छन्।
ट्रम्प नीतिको विरोध र अर्थतन्त्रप्रतिको आक्रोश
मतदाताहरूको यो निर्णय राष्ट्रपति ट्रम्पको आर्थिक व्यवस्थापन र गत फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु गर्ने उनको निर्णयप्रतिको तीव्र असन्तुष्टिको परिणाम भएको विश्लेषण गरिएको छ। इरान युद्धका कारण अमेरिकामा इन्धन (ग्यास) को मूल्य ह्वात्तै बढेको थियो। निर्वाचन अघिका सर्वेक्षणहरूमा मतदाताहरूले महँगी (लिभिङ कष्ट) प्रति चिन्ता र ट्रम्पको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए।
एक्जिट पोलअनुसार देशभरका आधा मतदाताले यो निर्वाचनलाई राष्ट्रपति ट्रम्पविरुद्ध मत दिने अवसरका रूपमा लिएको बताएका छन्। सर्वेक्षणमा सहभागी तीन-चौथाई (७५%) मतदाताले देश गलत दिशातर्फ गइरहेकोमा “आक्रोशित” वा “असन्तुष्ट” रहेको र ७०% मतदाताले अब कंग्रेसले राष्ट्रपतिमाथि थप अंकुश र सन्तुलन (चेक्स एन्ड ब्यालेन्सेस) कायम गरेको हेर्न चाहेको बताएका छन्।
चुनावको अन्तिम क्षणमा ट्रम्पले आफ्ना समर्थकहरूलाई आकर्षित गर्न दुई दर्जनभन्दा बढी र्यालीहरू गर्दै व्यापक प्रचार गरेका थिए। उनले पटक-पटक समर्थकहरूलाई म नै उम्मेदवार हुँ भन्ने ठानेर भोट हाल्न अपिल गरेका थिए।
तथापि, मंगलबार राति रिपब्लिकनहरूले कंग्रेसमा बहुमत गुमाउने पक्का भएपछि ट्रम्पले सामाजिक सञ्जालमा आफु चुनावी ब्यालेट (उम्मेदवार) नभएकाे र यदि भएको भए प्रचण्ड बहुमत जित्ने दाबी गरेका छन् ।















