फेरि सातैजना प्रदेश प्रमुख परिवर्तन गर्ने तयारीमा देउवा सरकार, गठबन्धनले टुंग्यायो भागबण्डा, माधव नेपालकाे भागमा २ प्रदेश प्रमुख
काठमाडौं । संघीय सरकारको नेतृत्व परिवर्तन भएसँगै पुनः प्रदेश प्रमुखहरू परिवर्तन हुने भएका छन् । यसका लागि सरकारका सहमागि गठबन्धनले भागबण्डा टुंग्याएको छ ।
प्रदेश तहमा केन्द्रको राष्ट्रपतिजस्तै प्रकाशकीय ओहोदाका रुपमा प्रदेश प्रमुख नियुक्त गर्ने प्रवाधान छ । संघीय सरकारको शिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।
सत्तारुढ गठबन्धनमा सात वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिको गृहकार्य सुरु भएको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सातवटै प्रदेशका प्रदेश प्रमुखहरू हटाएर नयाँ नियुक्त गरेको थियो ।
स्रोतका अनुसार ७ प्रदेश प्रमुखमध्ये कांग्रेस, माओवादी र एमालेको माधव समूहले २–२ जना र जनता समाजबादी पार्टीको उपेन्द्र यादव पक्षले १ जना पाउने अनौपचारिक समझदारी जुटेको छ ।
सरकारलाई सहजीकरण गर्न भनेको कार्यदलले नयाँ प्रदेश प्रमुखको नाम टुंगो लगाउने काम गरिरहेको छ । अबको केही दिनमै प्रदेश प्रमुखहरू फेरिने स्रोतको दाबी छ ।













