अर्थमन्त्री–अमेरिकी राजदुत शिष्टाचार भेट, अमेरिकी परियोजना अघि बढाउने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै अमेरिकालाई धन्यवाद दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको र त्यसमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने अपेक्षा गरेका छन् । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यन्वयनमा तदारुकता दिन सरकारले ध्यान पु¥याउने प्रतिवद्धता जनाएका छन् ।
लामो समयदेखि अमेरिकी सहायतामा सञ्चालन हुने मिलेनियम च्यालेञ्ज कोअपरेशन (एमसीसी) परियोजनाको बिबाद चुलिँदै गएका बेला अर्थमन्त्री र राजदूतबीच भेट भएको हो । भेटमा राजदुत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताएका छन् ।
विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख मात्रा खोप हालैमात्र दिएको छ । विश्व स्वास्थ्य संगठनले व्यवस्था गरेको ‘कोभ्याक्स’ कार्यक्रम अन्तरगत दिइएको उक्त खोपका अलवा आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ अमेरिकी सरकार सकारात्मक रहेको राजदूत बेरीले बताए ।













