शेयर बजारमा स्वार्थ बाझिनेगरी नियाकम निकायकै हामिकले शेयर लिएको खुलासा
काठमाडौं । शेयर बजारको नियामक निकायका पदाधिकारीहरुले स्वार्थ बाझिनेगरी शेयर किनेको विवरण हिमाल खबरले प्रकाशित गरेको छ । उक्त विवरण अनुसार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले दोस्रो बजारमा आउनै लागेको एउटा कम्पनीको शेयर आफ्ना परिवारका सदस्यको नाममा किनेका छन् ।
‘सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रिया मार्फत ६० लाख साधारण शेयर निष्कासनको तयारी गरिरहेका बेला साउदले पारिवारिक सदस्यका नाममा यो कम्पनीको शेयर हात पारेको प्रमाण’ आफूले प्राप्त गरेको हिमालखबरले लेखेको छ ।
उक्त समाचार अनुसार साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए । आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरपछि बोहराको नाममा रहेको शेयर संख्या ११ हजार ९१२ पुगेको छ ।
सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत प्रतिकित्ता ७५० रुपैयाँमा बिक्री गर्ने प्रस्ताव गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पनि सर्वोत्तम सिमेन्टकै ‘कम्तीमा ११ हजार ९९२ कित्ता शेयर अमेरिका बस्ने छोरी रेबिका ढुंगानाको नाममा राखेको भेटिएको’ विवरण मंगलबार सार्वजनिक गरेको थियो ।













