शेयर खरीद प्रकरणमा धितोपत्र बोर्डका अध्यक्षको प्रस्टिकरणः ‘विहे गरेको छोरीले शेयर किन्न मिल्छ’
काठमाडौं । स्वार्थ बाझिने गरी शेयर खरीद गरेको विषयमा विबाद भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफ्नो बचाउ गरेका छन् । उनले विहे गरेको छोरीले शेयर किन्न धितोपत्र बोर्डको कर्मचारी विनियमावली र कानूनले बन्देज नलगाउने दाबी गरे ।
उनले उद्यमशीलतामा लगानी गर्ने संवैधानिक अधिकार सबैले प्रयोग गर्न सक्ने बताए । ‘स्वयम् पदाधिकारी र उसको श्रीमान वा श्रीमतीले शेयर किन्दा कानूनी प्रश्न उब्जन सक्छ,’ उनले भने, ‘एउटै परिवारमा बस्ने छोरा र अविबाहित छोरीले किनेको भए स्वार्थ बाझिने संभावना हुन्छ ।’
उनले विवाहिता छोरी र उनको परिवारले गर्ने निर्णयमा आफ्नो भूमिका नहुने दाबी गरे । यसअघि ढुंगानाकी छोरी रेबिकाले सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर किनेको विवरण सार्वजनिक भएको थियो ।
उक्त कम्पनीले नयाँ आर्थिक वर्ष शुरु भएसँगै बूक बिल्डिङ विधीमार्फत् सामान्यभन्दा निकै महँगो मूल्यमा दोस्रो बजारमा शेयर जारी गर्ने तयारी गरिरहेको छ । सोही कम्पनीको शेयर अमेरिका बस्दै आएकी ढुंगानाकी छोरीको नाममा पाइएको विवरण हिमालखबरले सार्वजनिक गरेको थियो ।















