बोर्डका अध्यक्ष ढुंगानालाई ३ दिनभित्र स्पष्टिकरण पठाउन अर्थ मन्त्रालयको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । अध्यक्ष ढुंगानाले कानुन विपरित सर्वाेत्तम सिमेन्टको सेयर किनेको प्रमाणदेखिएपछि अर्थ मन्त्रालयले स्पष्टिकरण साधेको हो ।
अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के हो, सोको स्पष्ट तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएको हो ।
अध्यक्ष ढुंगानाले स्वार्थ बाझिने गरी शेयर खरीद गरेको आरोप लागेको हो । तर विबाद भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले विहे गरेको छोरीले शेयर किन्न धितोपत्र बोर्डको कर्मचारी विनियमावली र कानूनले बन्देज नलगाउने दाबी गरेका छन् ।
ढुंगानाकी छोरी रेबिकाले सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर किनेको विवरण सार्वजनिक भएको थियो । उक्त कम्पनीले नयाँ आर्थिक वर्ष शुरु भएसँगै बूक बिल्डिङ विधीमार्फत् सामान्यभन्दा निकै महँगो मूल्यमा दोस्रो बजारमा शेयर जारी गर्ने तयारी गरिरहेको छ ।














