यसरी बढ्दै छ महामारीको तेस्रो लहर, अर्थतन्त्र पुनः अप्ठेरोमा पर्ला ?
काठमाडौं । संसारभर कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसहरुको संख्या २० करोड पुग्न लागेको छ । यसबीच ४२ लाख ४१ हजारभन्दा बढी मानिसले सोही महामारीका कारण ज्यान गुमाएको औपचारिक आँकडा छ । तर हरेक मुलुकमा मृत्यु हुनेको संख्या यो तथ्यांकभन्दा बढी रहेको हुनसक्ने खबरहरु प्रकाशित भएका छन् ।
डेढ वर्षको अन्तरालमा यतिधेरै मानिसलाई मृत्युको मुखमा डोर्याएको यो महामारीले अब तेस्रो लहरको फणा फिँजाएको छ । यसअघि गत फेब्रुअरी १५ मा २ लाख ८० मा झरेपछि महामारीले दोस्रो लहर सुरु गरेको थियो । त्यसपछि संक्रमण बढे पनि पछिल्लो पटक २१ जुनमा दैनिक संक्रमण २ लाख ६४ हजार जनामा झरेको थियो ।

गएको २२ जुनदेखि महामारीको तेस्रो लहर सुरु भएको देखिएको छ । कोरोना महामारीबारे अध्यावधिक तथ्यांक उपलब्ध गराउँदै आएको वल्डोमिटरका अनुसार गएको २९ अप्रिलमा दैनिक संक्रमणको संख्या कीर्तिमानी स्तरमा पुगेको थियो । त्यस दिन संसारभर ९ लाख ३ हजार १६० जनामा संक्रमण भएको थियो ।
मृत्युको आँकडाले भने २० जनवरीमा कीर्तिमानी अंक तयार गरेको थियो । सो दिन विश्वभर १७ हजार ५०४ जनाले महामारीकै कारण ज्यान गुमाएको औपचारिक तथ्यांक छ । पछिल्लो समय संक्रमण दर बढे पनि मृत्युदर भने कम हुँदै गएको विश्वब्यापी तथ्यांकले देखाउँछ ।
नेपाली अर्थतन्त्रलाई के असर पर्छ ?
यसअघि महामारीले पहिलो लहरमा युरोप र अेमरिका तथा दोस्रो लहरमा भारत र ब्राजिललाई बढी प्रभावित पारेको थियो । तेस्रो लहरमा दक्षिणपूर्वी एसियाली मुलुकहरु, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, भियतनामजस्ता मुलुकमा महामारीको असर बढ्न थालेको छ ।
मलेसिया नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स स्रोत मुलुकमध्येको एक हो । दक्षिण पूर्वी एसियामा महामारीले असर गरेमा नेपाल भित्रिने रेमिट्यान्स केही प्रभावित हुनसक्ने आँकलन यस अघिदेखि नै अर्थशास्त्रीहरुले गरेका छन् । के अब नेपालको रेमिट्यान्स संकटोन्मुख भएको हो त ?
अर्थशास्त्री दधि अधिकारी भन्छन्, ‘अब पहिलेजस्तो ठूलो जोखिम छैन ।’ अहिले संसारमा धेरै किसिमका खोपहरु आइसकेको र महामारीका बीचमा पनि अर्थतन्त्रलाई कसरी चलायमान राख्ने भन्ने अनुभव बटुलिसकेका कारण पनि जोखिम कम भएको उनले बताए । ‘पहिलो लहर आउँदा संसारभर महामारीलाई लिएर अनेकौं अन्यौलता थिए,’ उनले भने, ‘त्यस्तो बेलामा पनि नेपाल भित्रिने रेमिट्यान्स घटेन भने अब घट्ने संभावना कम छ ।’












