डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार थापालाई
काठमाडौं । डा. हरिहरदेव पन्त फाउन्डेशनले अन्नपूर्णपोस्ट दैनिकमा कार्यरत पत्रकार ममता थापालाई यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । फाउण्डेशनले स्वर्गीय डा. हरिहरदेव पन्तको छैठौं स्मृति दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कारबाट सोमबार एक समारोहबीच थापालाई सम्मानीत गरेको हो । नेपालमा लघुवित्तको प्रवद्र्धक मानिने डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । फाउन्डेशनले प्रत्येक वर्ष एकजना उत्कृष्ट अर्थिक पत्रकार वा संघ, संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।
यससँगै फाउण्डेसनले ‘डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार’ नरेन्द्रराज पनेरु र दुर्गा श्रीसलाई प्रदान गरेको छ । पनेरुले त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा सर्वोत्कृष्ठ अंकसहित स्नातकोत्तर उपाधी हासिल गरेका थिए ।
त्यस्तै, श्रीसले त्रिभुवन विश्वविद्यालयबाटै ग्रामीण विकास विषयमा सर्वोत्कृष्ठ अंकसहित स्नातकोत्तर उपाधी हासिल गरेका छन् । उनीहरु दुबै जना त्रिवीको शैक्षिक सत्र सन् २०१६—२०१८ का विद्यार्थी हुन् यी दुबै पुरस्कारको राशी पनि ५० हजार रुपैयाँ रहेको छ ।
संस्थाले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थामार्फत सातै प्रदेशका एकएक जना उत्कृष्ठ लघुउद्यमीलाई पनि पुरस्कृत गरेको छ । यस्तो पुरस्कारको राशी भने जनही ३० हजार रुपैयाँ छ । लघु उद्यमीहरूको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न यस्तो पुरस्कार प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।












