क्षेत्रपाटीमा निःशुल्क चिकित्सालय भवन बन्ने, साढे ६ करोड जुट्यो लगानी
काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक ८ तले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्माण गर्न लागेको हो ।
आज आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् ।
काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको ५ करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप डेढ करोड रुपैयाँ जम्मा भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए । उनले थप सहयोग जुटाएर अस्पताल निर्माण गरिने बताए ।
छत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कूल पूँजिबाट शुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेशमान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिन भवन शिलान्यास गरेका थिए ।
पैसा हुनेसँग शुल्क लिने र नहुनेलाई निःशुल्क सेवा दिने प्रणालीमा सञ्चालित उक्त चिकित्सालयमा अहिले मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवासमेत उपलब्ध छ । भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।












