भत्ता, इन्धन र भ्रमण खर्च कटाएर खोप किन्न ५ अर्ब जोहो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भत्ता, इन्धन र भ्रमण खर्च कटाएर खोप किन्न ५ अर्ब जोहो



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत कोरोना भाइरस विरुद्धको खोप किन्न थप ५ अर्ब रुपैयाँ बजेट जोहो गरेको बताएका छन् । सरकारले खुद्रा प्रशासनिक खर्च कटाएर यति ठूलो रकम छुट्याएको बताएको छ ।

केपी ओली नेतृत्वको सरकारले बैठक भत्ता, इन्धन, सवारी मर्मत, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम, गोष्ठि, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्चजस्ता खुद्रे योजनामा करीब ५० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।

उक्त रकमबाट न्यूनतम १० प्रतिशत बजेट थुतेर खोप किन्ने कोषमा रकम थपिएको अर्थमन्त्री शर्माले जनाएका छन् । उनले बजेटको प्रतिस्थापन विधेयकमा गत बुधबार अर्थात् २३ भदौसम्ममा १७ प्रतिशत जनसंख्याले कोभीड १९ विरुद्धको खोप लगाइसकेको उल्लेख गरेका छन् ।

कुल ५७ लाख ३० हजार जनाले पहिलो मात्रा र ५१ लाख २ हजार जनाले पूर्ण मात्रा खोप लगाइसकेको उल्लेख छ । यसका साथै हालसम्म १ करोड ३३ लाख ५९ हजार मात्रा (डोज) खोप नेपाल भित्रिसकेको र करीब ३ करोड मात्रा प्राप्त हुने क्रममा रहेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्