२१ कार्तिक २०८३, शनिबार

गलत सन्देश दिएको भन्दै आलोचनापछि नबिल बैंक र एनआईसी एशिया बैंकले मागे माफी



काठमाडौं । नबिल बैंक र एनआईसी एशिया बैंकले माफी मागेका छन् । गत भदौ २६ गते ऋषिपञ्चमीका अवसरमा राखिएको पोस्टका विषयमा विभिन्न नकारात्मक प्रतिक्रिया आएपछि दुबै बैंकले माफी मागेका हुन् । एनआईसी एशिया बैंकले असावधानीका कारण महिलाहरूमा परेको विचार र भावनाप्रति चोट पुग्न गएकोमा क्षमाप्रार्थी गरेको छ भने भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 

यता नबिल बैंकले ऋषिपञ्चमीको दिनलाई लैंगिक असमानता झल्काउने गरी महिलाहरूले पाप पखाल्ने दिनको रुपमा चित्रित गरेकोप्रति भुल सुधार गर्दै माफी मागेको हो । बैंकले ऋषिपञ्चमीको अवसरमा आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको सन्देश महिला शसक्तिकरण तथा लैंगिक समानता विपरित हुन गएकोमा भुल सुधार गर्दै माफी मागेको हो ।


एनआईसी एशिया बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘यस बैंकको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत ऋषिपञ्चमीको शुभकामना दिन राखिएको पोस्टका विषयमा आएका प्रतिक्रियाहरू प्रति यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो असावधानीका कारण उक्त पोस्टमा उल्लेख गरिएको सन्देशबाट यहाँहरूको विचार र भावना प्रति चोट पुग्न गएकोमा क्षमाप्रार्थी हुँदै भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ बैंकले गत भदौ २६ गते हिन्दु महिला दिदी बहिनीहरूले महत्वका साथ मनाउने ऋषिपञ्चमीका अवसरमा आफ्नो फेसबुक पेजमा भनेको थियो, ‘आजको दिन रजस्वला सुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ति कुराहरूको शुद्धिका लागि पूजा अर्चना गर्दछन् ।’

नबिल बैंकले भनेको छ, ‘रजस्वला एक पवित्र प्राकृतिक प्रक्रिया हो, यस लगायत सामाजिक न्यायको हरेक सवाललाई बैंक सम्मान गर्दछ । आगामी दिनमा यस बैंकबाट प्रसारित तथा प्रकाशित हरेक सामग्री लैंगिक समानतालाई ध्यानमा राखी प्रकाशित/प्रसारित गरिने हामी प्रतिवद्धता व्यक्त गर्दछौँ ।’ नबिल बैंकले ऋषि पञ्चमीको दिन पौराणिक कथन अनुसार भन्दै ‘नारीहरूले रजस्वला हुँदा जानेरै वा नजानीकनै गरेका जतिपनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत बस्ने गरेको विश्वास छ’ भनेर लेखेको थियो । 

अहिले दुबै बैंकले उक्त सन्देश अहिले हटाइसकेका छन् ।